logo
२०८१ मंसिर १४ शुक्रवार



न्याय नपाएको गुनासो

प्रदेश |


न्याय नपाएको गुनासो


जुम्ला समाचारदाता

खलङ्गा, फागुन २७ गते । ‘सर, भाइको हत्या भएको दुई वर्षभन्दा बढी भयो । दोस्रोपटक जाहेरी दिएका व्यक्ति बाहिरै छन् । हामीले कहिले न्याय पाउँछौँ ?’ चन्दननाथ नगरपालिका वडा नं. २ खोलीकोट गाउँकी रीता बुढ्थापाले आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगी प्रहरीसँग यस्तै गुनासो गर्नुभयो ।
हत्या आरोपितविरुद्ध किटानी दर्ता गर्दासमेत दुई वर्षसम्म प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि नबढाएको भन्दै रीतासहित उहाँका ७६ वर्षीय बाबु रामकृष्ण बुढ्थापाले प्रहरीको समक्ष रुँदै गुनासो गर्नुभयो । चन्दननाथ नगरपालिका २, खोलीकोटका तत्कालीन नयाँ शक्ति पार्टी जुम्लाका संयोजक तथा केन्द्रीय सदस्य ४३ वर्षीय राधाकृष्ण बुढ्थापाको शव गत २०७४ साउन २० गते भेटिएको थियो ।
मृतक बुढ्थापाका परिवारले हत्या भएको भन्दै घटनामा संलग्न पक्षलाई कारबाही नभएको हुँदा प्रहरीलाई अनुसन्धान गर्न अनुरोध गरेका छन् । बुढ्थापाको हत्याको आशङ्कामा चन्दननाथ नगरपालिका ६ का २९ वर्षीय खड्गजित रोकाया र सोही वडाका ४२ वर्षीय एङ्गल लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका दुवै जना अहिले पुर्पक्षका लागि कारागारमा छन् । अहिलेसम्म मुद्दाको किनारा लागेको छैन ।
पीडित परिवारले पुनः २०७४ भदौ १२ गते मृतकका बुवा रामकृष्णले जिल्ला सरकारी वकिल जुम्लामा पूरक जाहेरीका रूपमा आरोपितविरुद्ध किटानी उजुरी दर्ता गराउनुभएको थियो । जुम्लाका प्रहरी प्रमुख डीएसपी लालबहादुर धामीले घटनाको फाइल अध्ययन गरी कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?