logo
२०८१ मंसिर १० सोमवार



स्थानीयको अवरोधले प्रसारण लाइन बिस्तारमा ढिलाई

प्रदेश |


स्थानीयको अवरोधले प्रसारण लाइन बिस्तारमा ढिलाई


लक्ष्मण पौडेल

भैरहवा, फागुन २२ गते । स्थानीयको बारम्बारको अवरोधका कारण भैरहवा–लुम्बिनी कोरिडोरमा बुटवलबाट ल्याउन लागिएको विद्युत प्रसारण लाइन बिस्तारमा ढिलाई भएको छ ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक करिडोर लगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन बिस्तार थालिएको थियो । बुटवल–गोरुसिंगे–लुम्बिनी १ सय ३२ केभी प्रसारण लाइन विस्तार आयोजनाले चार वर्षअघिदेखि काम सुरु गरेपनि स्थानीयको अवरोधका कारण ढिलाइ भएको हो ।
आयोजना प्रमुख हरिप्रसाद पाण्डेका अनुसार एक अर्व २० करोड लागतको यो आयोजना तीनवर्षभित्रमा सक्ने लक्ष्य भएपनि चार वर्षसम्म पूरा हुन नसकेको हो । “विद्युत् विस्तारका लागि जग्गा प्राप्ति र रुट विवादले काम हुन सकेको छैन”–आयोजना प्रमुख पाण्डेले भन्नुभयो ।

अहिले भने रुट विवाद टुंगिए पनि विद्युत् विस्तारका लागि जग्गा प्राप्तिको विवाद कायमै रहँदा थप समस्या निम्तिएको आयोजनाले जनाएको छ । यसले गर्दा आयोजना कहिले सकिने भन्ने टुंगो छैन । औद्योगिक र पर्यटकीय क्षेत्रमै १३२ केभी विद्युत् लाइन नहुँदा उद्योगीले समस्या भोगेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद लामिछानेले बताउनुभयो । औद्योगिक र पर्यटकीय केन्द्र मानिने भैरहवा र लुम्बिनीमा १३२ केभिको प्रसारण लाइन अपरिहार्य रहेको तर यसमा ढिलाई हुँदा समस्या निम्तिएको उहाँको भनाइ छ । “यसले आर्थिक विकासको गति नै रोकिएको छ, विकासका काममा कतैबाट अवरोध हुनुहुन्न”–उहाँले भन्नुभयो ।

आर्थिक वर्ष २०७२/०७३ मा बुटवलको योगीकुटीबाट तिलोत्तमा हुँदै मैनहियासम्म लैजाने गरी आयोजना सुरु भएको थियो । जसमा सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकको किनारमा मोनोपोल (सिंगल पोल) राख्ने तयारी थियो । तिलोत्तमाबासीले सडक छेउँबाट विद्युत् लैजाँदा मानवीय जोखिम हुने भन्दै मोनोपोल विस्तार गर्न दिएनन् । जसका कारण प्रसारण लाइन बिस्तारको काम दुई वर्षसम्म रोकियो । सडकको सट्टा तिनाउ नदीको किनारबाट रुट तय गरेर गत वर्षदेखि विद्युत् विस्तार थालिएपनि स्थानीयले फेरि अवरोध थालेका छन् ।

विद्युत् विस्तार हुने भनिएको तिनाउ नदीकिनार बस्तीले भरिएको छ । धेरैले छुट कित्ताका नाममा लालपुर्जा निकालेका छन् । उनीहरूले आफ्नो जग्गामा पोल गाड्न नदिने भन्दै विरोधमा उत्रिंदा लाइन बिस्तारमा अवरोध भएको आयोजना प्रमुख पाण्डेले भन्नुभयो । “केही व्यक्ति आफ्नो जग्गा नपरे पनि नियोजित रुपमा लागेको देखिएको छ”–उहाँले भन्नुभयो । यस रुटमा सामुदायिक संस्था र सामुदायिक वनले समेत पोल गाड्ने जग्गा नदिंदा समस्या झेल्नु परेको उहाँको भनाइ छ । “व्यक्तिगत जग्गामात्र होइन, सरकारी जग्गामा समेत सामुदायिक वनका नाममा विस्तारमा अवरोध गरिएको छ, जसले गर्दा काम नै रोकिएको छ”–उहाँले भन्नुभयो ।

योगीकुटीबाट सब स्टेशन रहेको मैनहियासम्म विद्युत् पु-याउन ५७ वटा विद्युत् पोल गाड्नुपर्छ । जग्गा विवादले अहिलेसम्म २२ वटा पोलका लागि फाउन्डेसन मात्रै बनेको छ । जग्गा टुंगो नलाग्दा अन्य ३५ वटाको फाउन्डेशन पनि कहिले बन्ने भन्ने टुंगो छैन । लुम्बिनी कोरिडोरका उद्योगलाई प्राधिकरणले माग गरे अनुसार विद्युत दिन सकिरहेको छैन । विद्युत लोडकै कारण भैरहवा र लुम्बिनी क्षेत्रमा आपूर्ति नियमित हुन सकिरहेको छैन ।

प्रसारण लाईन बिस्तारमा कोही बाधक नबनी द्रुत गतिमा काम अघि बढाउन सहयोग गर्दा मात्रै रुपन्देहीको विकासमा सहयोग पुग्ने सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रामकुमार शर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?