logo
२०८१ मंसिर १४ शुक्रवार



चैनपुर–ताक्लाकोट सडक योजना सुस्त गतिमा

प्रदेश |


चैनपुर–ताक्लाकोट सडक योजना सुस्त गतिमा


शैलेन्द्र रोकाया

बझाङ, फागुन २९ गते । सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यस क्षेत्रकै गौरवको योजना सेती लोकमार्ग अन्तर्गत चैनपुर–ताक्लाकोट सडकखण्डको निर्माणको काम सुस्त गतिमा रहेको भेटिएको छ । सदरमुकाम चैनपुरबाट उत्तरीखण्डमा निर्माण भइरहेको यो सडक छिटोछरितो निर्माण गर्न यस क्षेत्रका बासिन्दाको माग रहँदै आए पनि सडक निर्माणको ठेक्का लिएका निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलाइ भएको हो ।
कैलालीको बौनियाँबाट सुरु भएको सेती लोकमार्ग डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर चीनको स्वशासित क्षेत्र ताक्लाकोट जोडिने नेपालको सबैभन्दा छोटो सडक मार्ग हो ।
सेती लोकमार्गको उत्तरीखण्ड बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको सिमाना उरैभञ्ज्याङसम्म एक सय किलोमिटर लम्बाइ भए पनि हालसम्म ३४ किलोमिटर मात्रै ट्रयाक खोल्ने काम भएको छ । चैनपुरदेखि साइपाल गाउँपालिकाको धुलीसम्म सडक निर्माणका लागि दुईवटा प्याकेजमा राजेन्द्र निर्माण सेवा र स्वच्छन्द बानियाँ नागार्जुन निर्माण सेवा जेभीले काम गरिरहेका छन् । चैनपुर–ताक्लाकोट सडक आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले भन्नुभयो, “चैनपुरदेखि रुपातोलासम्म निर्माणको जिम्मा लिएको राजेन्द्र निर्माण सेवाको काम अन्तिम चरणमा पुगेको भए पनि रुपातोलादेखि माथि धुलीसम्मको काम ढिला भएको छ ।”
गतवर्षको तुलनामा यो वर्ष कुनै काम पनि हुनसकेको छैन । हिउँदमा बाक्लो हिमपात भएकाले त्यस क्षेत्रमा पनि काममा अवरोध भयो उहाँले भन्नुभयो, “रुपातोलादेखि धुलीसम्म सडक निर्माण गर्ने नागार्जुन निर्माण सेवाले २०७४ मङ्सिरदेखि काम सुरु गरेको भए पनि हालसम्म १६ किलोमिटर मात्र ट्रयाक खोलिएको छ ।”
बझाङको उत्तरी भेगको अन्तिम गाउँ धुलीसम्म पुग्न अझै २६ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । काममा ढिलाइ भएपछि प्रतिनिधि सभा सदस्य आशा विकले यो सडकको काममा ढिलाइ भएकाले छिटो काम गर्न आग्रह गर्नुभएको छ । उहाँले मङ्गलबार पत्रकार र चैनपुर–ताक्लाकोट सडक आयोजना कार्यालय चैनपुरका इन्जिनियरसहितको टोलीलाई निर्माण स्थलमा लगेर आयोजनालाई समयमै पूरा गर्न सुझावसमेत दिनुभयो ।
उहाँले भन्नुभयो, “सडक अनुगमन गर्दा निर्माण कार्यमा ठेकेदार कम्पनीको लापरबाही देखियो, अन्य कुनै पनि समस्या छैन तर निर्माण कम्पनीकै ढिलासुस्तिका कारण ट्रयाक खोल्ने कामको प्रगति भएको छैन । आउँदो वर्ष ठेकेदारले आफ्नो जिम्मेवारी अनुसारको काम पूरा गरेमा थप बजेटका लागि पहल गर्नसमेत सहज हुने थियो ।”
साइपाल गाउँपालिका भएर जाने यो सडकको काम छिटो सम्पन्न गर्न गाउँपालिकाले समेत अनुरोध गरेको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भन्नुभयो, “यो सडकलाई समयमा पूरा गर्न पटकपटक पहल गरेको भए पनि काम एकदमै सुस्त भयो । यो सडक निर्माणको काम यस्तै गतिमा भए धुलीसम्म पुग्न अझै १० वर्ष लाग्न सक्छ ।”
बझाङकै सबैभन्दा दुर्गम साइपाल गाउँपालिकाका स्थानीय बासिन्दा यही सडकको पर्खाइमा रहेको स्थानीय टेक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म साइपाल गाउँपालिकामा सडक पुग्न सकेको छैन । आवश्यकीय सामानहरू ल्याउन खच्चड र भेडाको भर पर्नुपर्ने बाध्यता रहेको छ । यो सडकखण्ड निर्माणको काम छिटो भए यहाँका बासिन्दालाई ठूलो राहत हुने थियो ।” निर्माण कम्पनीले भने कहिले तेलको अभाव हुने, वर्षायाममा काम गर्न अप्ठ्यारो हुने, कहिले साइडमा काम गर्र्न समस्या भएको बताउँदै आएका छन् । यस वर्ष भने उनीहरूले हिमपातको कारणले काम हुन नसकेको बताएका छन् । रुपातोला–धुली सडकखण्डका लागि ८४ करोड र चैनपुरदेखि रुपातोलासम्म २३ करोड रुपियाँमा ठेक्का लागेर काम हँुदैछ ।
यो नाका खोल्नसके बझाङ जिल्लालगायत सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्ने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?