सिराज खान
नेपालगञ्ज, फागुन २९ गते । बुधबार र बिहीबार लगातार दुई दिन कोहलपुरमा भएका दुईवटा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएपछि मृतकका आफन्तहरुले आक्रोशित भै दोस्रो दिन बिहीबार पनि कोहलपुरको यातायात ठप्प पारेर ठाउँ ठाउँमा प्रदर्शन गरेका छन् ।
बुधबार टिपरको ठक्करबाट कोहलपुर नगरपालिका वडा नं. ९ की रामपती थारुको मृत्यु भएपछि करिब चार घण्टा चक्काजाम गरेर यातायात अवरुद्ध पारेका थारुका आफन्तहरुले सहमति पुरा नभएको भन्दै बिहीबार विहान ११ बजेदेखि फेरी नेपालगञ्ज–कोहलपुर सडक खण्ड अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका छन् ।
यसैविच बिहीबार विहान मदनचोकदेखि तीव्र गतिमा आइरहेको भे १ ख २१२९ नम्बरको माइक्रो बसले जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको गेट नजिकै अटोलाई ठक्कर दिँदा अटो चालक बैजनाथ गाउँपालिका–२ मकैबारीका जय बहादुर रोकाको ज्यान गएपछि उनका आफन्तले पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् ।
मदनचोक र पिपरीचोकमा प्रदर्शन गरिरहेका मृतकका आफन्तहरुले दवै ठाउँका पसलहरु समेत बन्द गराएर ठाउँ ठाउँमा टायर बालेर सडक अवरुद्ध पारेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले केही सवारीसाधन माथि पनि ढुंगामुढा गरेका थिए । कोहलपुर क्षेत्रमा ठूलो मात्रमा सुरक्षाकर्मीहरु खटाइएको प्रहरीले जनाएको छ ।
टिपर धनीलाई बिहीबार बिहानसम्म ईलाका प्रहरी कार्यालय कोहलपुरमा झिकाउने सहमती बुधबार भएपनि उपस्थित नभएको भन्दै पिडित पक्षले बिहीबार पुन कोहलपुर नेपालगञ्ज सडकखण्ड अवरुद्ध पारेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी कुलदीप चन्दले जानकारी दिनुभयो ।
डिएसपी चन्दले जानकारी दिनुभयो ।
दुवै दुर्घटनामा ज्यान गुमाएका तथा घाईतेहरुका आफन्तहरुले उचित क्षतीपुर्तिको माग गर्दै आन्दोलन चर्काएका छन । अहिले दुबै पक्षसँग वार्ताको प्रयास भईरहेको कोहलपुर प्रहरी प्रमुख चन्दले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बिहीबार बिहानको दुर्घटनामा घाइते तीन जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइते मध्ये बैजनाथ गाउँपालिका–१ चिसापानीका सुजन शाही, जुम्लाको तिला गाउँपालिका ५ का मदन शाही र परिचय नखुलेका अर्का एक जना गम्भिर रहेको प्रहरीले जनाएको छ ।