दीपक ज्ञवाली
बुटवल, फागुन २९ गते । चीनले कोरोना भाईरसको महामारी सकिएको घोषणा गरेकै दिन नेपालको बुटवलमा एक युवालाई त्यस्तो भाईरस संक्रमण भएको आशंकामा परीक्षण थालिएको छ । कोरोनाका अधिकांश लक्षणहरू मिलेपछि स्वाब परीक्षणका लागि काठमाडौं पठाईएको हो ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबार भर्ना भएका ती बिरामीको नमुना अस्पतालले हवाइजहाजमार्फत आजै काठमाडौं पठाएको हो ।
अस्पतालका मेडिकल सुपरीटेण्ट डा. राजेन्द्र खनालले नमुना काठकाडौंको टेकु अस्पतालमा पठाईएको बताउनुभयो । ‘अधिकांश लक्षण मिलेपछि नमुना परीक्षणका लागि पठाएका हौं,’ उहाँले भन्नुभयो,‘उनको सारीरिक अवस्था पनि नाजुक छ ।’
कोरोनाका लक्षण देखिएपछि विरामी युवालाई बिहीबारदेखि नै छुट्टै आइसोलेसन कक्षमा राखेर उपचार गरिएको छ । अन्यलाई उपचार कक्ष आसपासमा जान समेत रोक लगाइएको छ । मेसु खनालका अनुसार करिब २२ वर्षे युवामा एक साताअघिदेखि उच्च ज्वरो र निमोनियाँ देखिएको थियो ।
उनले इन्स्टिच्यूटमा भाषा अध्ययन गरीरहेका थिए । जसमा नियमित रुपमा विदेशी नागरिक समेत आउजाउ गर्ने गरेका छन् । उनमा कोरोनाको लक्षण मिल्दो जुल्दो देखिएको र विदेशी नागरिक समेत आउजाउ गर्ने भएकाले कोरोना आशंका बढेकाले पनि नमुना परिक्षणकालागि पठाएको उहाँले जानाकारी दिनुुभयो ।
‘प्रदेश सरकारलाई अस्पतालमा एक दुई बेड वा वाड होइन छुट्टै एक अस्पताल नै खाली गर्नेगरी तयारी गर्न भनेका छौं,’ उनले भने, ‘नत्र जोखीम हुनेछ।’
प्रादेशीक अस्पतालले कोरोना संक्रमणका लागि भन्दै दुई वटा आसोलेसन बेड छुट्याएको छ । एउटामा उनलाई राखिएपछि अब एउटा मात्रै आइसोलेशन बेड खाली छ । अन्य संक्रमणका लक्षण देखिएका बिरामी आए के गर्ने अस्पताल अलमलमा परेको मेसु खनालले बताउनुभयो । ‘प्रदेश सरकारलाई कोरोनाबाट बच्न संवेदनशील हुन आग्रह गरेका छौं । अस्पतालमा एक दुई बेड वा वाड होइन छुट्टै एक अस्पताल नै खाली गर्नेगरी तयारी गर्न भनेका छौं,’ उहाले भन्नुभयोे, ‘नत्र जोखीम हुनेछ।’
अस्पतालले बिहीबारदेखि नै विशेष सतर्कता अपनाएको छ । उपचारका लागि आउने विरामीसंग भेट्न आउने आफन्त घटाउन आग्रह गरेको छ । ‘दैनिक एक हजार विरामी उपचारकै लागि आउछन्,’ मेसु खनालले भन्नुभयो, ‘उनीहरुकोसंगै भेट्न आउने र साथमा आउने आफन्तले थप भीडभाड हुने र संक्रमण फैलने जोखीम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेका हौं ।’