प्रदेश १ ब्यूरो
विराटनगर, चैत ५ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत छ गते (बिहीबार) बाट सुरु हुँदै छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासका बीच हुन गईरहेको उक्त परीक्षा अगामी चैत १७ गते सकिने छ ।
परीक्षालाई मर्यादित व्यबस्थित तरिकाले सञ्चालन गर्न आवश्यक सबै तयारी पुरा भएको सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएका छन् । सबै परीक्षा केन्द्रहरुमा स्वास्थ्यकर्मीको व्यवस्था सहित स्वास्थ्य सहायता कक्ष स्थापना गरिने जनाइएको छ । यस पटकको एसइई परीक्षामा प्रदेश १ का १४ जिल्लाबाट ८४ हजार १०६ जना परीक्षार्थी सहभागी हुने प्रदेश शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ ।
सामाजिक विकास मन्त्रालय शैक्षिक योजना महाशाखा प्रमुख दिव्यराज कट्टेलका अनुसार प्रदेश १ मा ३७५ वटा परीक्षा केन्द्रमा ३७५ केन्द्राध्यक्षसहित ५४२ सहायक केन्द्राध्यक्ष तोकिएका छन् । त्यस्तै परीक्षा केन्द्रको सुरक्षार्थ प्रत्येक परीक्षा केन्द्रमा १५ जना सुृरक्षाकर्मी परिचालन गरिने छन् ।
प्रत्येक परीक्षा केन्द्रमा आईसोलेसन कक्ष
रङ्गेली समाचारदाताका अनुसार मोरङका प्रत्येक परीक्षा केन्द्रमा आइसोलेसन कक्ष स्थापना गरी परीक्षा अवधिभर विज्ञ स्वास्थ्यकर्मी समेत परिचालन गरिने शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ ।
मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि ७० केन्द्र तोकिएका छन् ।
कुनै विद्यार्थीमा स्वास्थ्य समस्या देखिए आइसोलेसन कक्षमा राखेर परीक्षामा सामेल गराईने छ । परीक्षामा सामेल हुन नसक्ने अवस्था आए तत्काल अस्पताल पु¥याउने प्रबन्धसहित परीक्षा केन्द्रहरुमा व्यवस्थापन मिलाइएको हो ।
मोरङमा एक्जाम्टेड र नियमिततर्फका समेत गरी १८ हजार ६७५ परीक्षार्थी परीक्षामा सहभागी हुने इकाई प्रमुख चापागाँईले जानकारी दिनुभयो । जसमध्ये एक्जाम्टेडतर्फका २६७ जना परीक्षार्थीले विराटनगरस्थित जनता नमूना उमाविमा, नियमिततर्फ प्राविधिक धारका ४४६ जना परीक्षाले कबिर मा.वि. बेलबारी र आदर्श मा.वि. विराटनगरमा, परीक्षार्थीले परीक्षा लेख्नेछन् । त्यस बाहेक ६७ परीक्षा केन्द्रमा अन्य परीक्षार्थी सहभागी हुनेछन् ।
जिल्ला परीक्षा समन्वय समितिले स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत र सम्बन्धित शिक्षा शाखाका अधिकृतलाई परीक्षा अनुगमनका लागि अनुरोध गर्ने निर्णय गरेको छ । त्यस बाहेक जिल्ला समन्वय समिति र शिक्षा इकाईबाट तोकिएका अधिकृतले परीक्षाको अनुगमनमा खटिने छन् ।
परीक्षा केन्द्रमै हात धुने व्यबस्था
धनकुटाका समाचारदाताका अनुसार जिल्लाका सबै परीक्षा केन्द्रमा स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई परीक्षा अवधिभर परिचालन गरिनेछ । धनकुटा नगरपालिकाले नगर क्षेत्रका सबै परीक्षा केन्द्रमा आवश्यक माक्स, ग्लोब, हातधुने साबुन लगायतका आवश्यक सामग्रीको व्यवस्था गर्ने धनकुटा नगरपालिकाले जनाएको छ । धनकुटामा नियमित र एक्जाम्टेड गरी दुई हजार ९५१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई धनकुटाले जनाएको छ ।
प्रत्येक परीक्षा केन्द्रमा अहेव
सोलुखुम्बु समाचारदाता अनुसार सोलुखुम्बुका प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर एक जना अहेब र स्वास्थ्य सहायकको व्यवस्था गरिने बताइएको छ । औषधि र उपकरणसहित राखिने स्थास्थ्यकर्मीले रुघाखोकी, ज्वरो आएका विद्यार्थीलाई स्वास्थ्य परीक्षण गरी कोरोनाको लक्षणको शङ्का लागेमा आवश्यक परामर्श दिनेछन् ।
१४ वटा परीक्षा केन्द्र रहेको उक्त हिमाली जिल्लाका सबै परीक्षा केन्द्रमा परीक्षा सामाग्री सहित केन्द्र अध्यक्ष पुगेर स्थानीयसँग समन्वय गर्ने काम सुरु भएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उक्त जिल्लाबाट यस पटकको एसइई परीक्षामा एक हजार ८३४ जना परीक्षार्थी सहभागी हुनेछन् ।
उपकरण नहुँदा अन्योलमा
सङ्खुवासभा समाचारदाताका अनुसार बिहीबारबाट सुरु हुने एसइई परीक्षाका प्रत्येक केन्द्रमा स्वास्थ्य सहायता कक्षा राख्न सरकारले निर्देशन दिएको छ तर, त्यसका लागि आवश्यक पर्ने उपकरणहरु नहुँदा सङ्खुवासभाको परीक्षा केन्द्रमा अन्योल सिर्जना भएको छ ।
ज्वरो नाप्न प्रयोग गरिने सेन्सर थर्ममिटर समेत नभएकाले परीक्षा केन्द्रमा स्वास्थ्य सहायता कक्षा राख्ने कुराको औचित्य नभएको केन्द्राध्यक्षहरुको भनाई छ । कोरोना भाइरसको ज्वरोको नाप्न साधारण थर्ममिटरको प्रयोगबाट सम्भव नभएको र उक्त थर्ममिटर सम्बन्धित परीक्षा केन्द्रको स्थानीय तहले ब्यवस्था गर्न नसक्ता यस्तो अन्योल देखिएको एक परीक्षा केन्द्रका केन्द्राध्यक्षले बताउनुभयो ।
प्रत्येक केन्द्रमा कम्तिमा दुईवटा सेन्सर थर्ममिटर आवश्यक पर्ने भएपनि एउटा समेत नपाईएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले बताउनुभयो । उक्त थर्ममिटर स्वास्थ्य कार्यालयबाट समेत प्राप्त हुन नसकेको राईको भनाई छ ।
सबै तयारी पुरा
पाँचथर समाचारदाताका अनुसार पाँचथरमा स्वास्थ्य सहायता कक्ष सहितको व्यवस्थापनमा एसइई परीक्षाको तयारी गरिएको शिक्षा विकास तथा समन्वय एकाई पाँचथरले जनाएको छ । बिहिबारबाट सञ्चालन हुन लागिरहेको एसइई परीक्षाका लागि पाँचथरमा २० वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । सबै परीक्षा केन्द्रमा जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा स्वास्थ्य सहायता कक्षको स्थापना गरिएको समन्वय एकाई पाँचथर प्रमुख युगमणी सवेनहङले बताउनुभयो ।
स्थानीय तहसँग समन्वय छैन
दमक समाचारदाताका अनुसार एसइई परीक्षा सञ्चालनका लागि झापामा स्थानीय तहसँग समन्वय भएको छैन । दमक नगरपालिकाका उपसचिव एवं नगर शिक्षा अधिकारी दीनेश न्यौपानेका अनुसार परीक्षाको सवै तयारी शिक्षा विकास तथा समन्वय ईकाईले गर्ने भएकाले आफूलाई कुनै जानकारी नभएको बताउनु भयो ।
झापामा एसइई परीक्षाका लागि विभिन्न ५५ वटा परीक्षा केन्द्र तोकेर केन्द्राध्यक्ष सहितका कर्मचारीलाई परीक्षा केन्द्रमा पु¥याउने काम सकिएको जनाइएको छ । झापामा यस पटक पाँच जना महिला केन्द्राध्यक्ष रहेकाछन् । झापामा यस पटकको एसइईमा नियमित र एक्जाम्टेड गरी १६ हजार १४३ जना विद्यार्थी सहभागी हुँदैछन् । झापाका प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिने जनाईएको छ ।
परीक्षा केन्द्रमै एम्बुलेन्स
गाईघाट समाचारदाता अनुसार एसइई परीक्षालाई भयरहित, ,मर्यादित र विश्वसनीय वनाउन प्र्रत्येक परीक्षा केन्द्रमा स्थानिय पालिका, शिक्षा तथा समन्वय इकाई र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त समन्वयमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा दुईवटा एम्बुलेन्स सहित अत्यावश्यक औषधि र चिकित्सकको व्यवस्था गरिने छ । उदयपुरमा नियमित तर्फ पाँचहजार ६२५ र एक्जाम्टेड तर्फ ३६५ गरी पाँचहजार ९९० परीक्षार्थी सहभागी हुने जनाइएको छ ।
सबै सामग्री पठाइयो
ताप्लेजुङ समाचारदाताका अनुसार बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक प्रश्नपत्र सहित सबै सामग्री परीक्षा केन्द्रमा पु¥याइएको छ । उक्त जिल्लाबाट यसपटक दुई हजार २९० परीक्षार्थी सहभागी हुने भएका छन् । । सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाको भानुजन मावि अम्बिटार केन्द्रमा दुईसय २३ जना र सबैभन्दा कम सिरिजङ्घाको गणेश मावि खेबाङमा ८४ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।
कैदी र दृष्टिविहीन पनि सहभागी
इनरुवा समाचारदाताका अनुसार बिहीबारबाट सुरु हुने यसपटकको एसइईमा सुनसरीमा दुई कैदीबन्दी र सात जना दृष्टिविहीन सहित १३ हजार ६९ परीक्षार्थी सहभागी हुदैछन् । परीक्षाका लागि जिल्लाभरी ४८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा केन्द्रमा कोरोना भाईरसको त्रास कम गर्न स्वास्थ्य सहायता कक्ष राखिने व्यवस्था गरिएको छ । सुनसरीको क्षेत्रीय कारागारका दुईजना कैदीबन्दी अमन चौधरी र जनक चौधरी तथा ज्ञान चक्षु विद्यालयका सात जना दृष्टिविहीन पनि एसइई परीक्षामा सहभागी हुँदैछन् ।