logo
२०८१ मंसिर ११ मंगलवार



हुम्लामा पचास बेडको क्वारेनटाइन र पाँच बेडको आइसोलेसन स्थापना

प्रदेश |


हुम्लामा पचास बेडको क्वारेनटाइन र पाँच बेडको आइसोलेसन स्थापना


राजन रावत
हुम्ला, चैत्र ११ गते ।
हिमाली जिल्ला हुम्लामा पहिलो पटक पचास बेडको क्यारेनटाइन र पाँच बेडको आइसोलेसन स्थापना गरिएको छ । बिश्वलाई त्रासमा राखेको कोरोना भाइरसको संभावित संक्रमणबाट बच्नका लागि क्वारेनटाइन र आइसोलेसन बेड स्थापना गरिएका हुन ।
जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले अब जिल्ला सदरमुकाम सिमकोटमा पचास बेडको क्वारेनटाइन र पाँच बेडको आइसोलेसन बेड स्थापना गरिएको बताउनुभयो । उक्त क्वारेनटाइन अस्पताल र आइसोलेसन वार्ड सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को रानी बनमा रहेको होटेल कैलाश रिसोर्टमा स्थापना गरिएको छ । होटेलका कोठा, बेड, खटिया सबै प्रयोगमा आउनेछन् । होटेल नजिकको सिमसार क्षेत्रभित्र निर्माण भएको म्युजियमलाई आइसोलेसन वार्डको रुपमा प्रयोग गर्दै हाललाई पाँच वटा बेड तयार गरिएको छ । त्यहाँ भोली संक्रमित भएर आउनेहरुका लागि उपचार, बस्ने, खाने सबै व्यवस्था पनि गरिनेछ । प्रमुख जिल्ला जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय क्वारेनटाइन ब्यबस्थापन समिति पनि गठन भएको छ । समितिको कार्य बिबरण पनि तयार गरिएको छ । त्यस्तै कोरोनाका संक्रमितहरुलाई ब्यबस्थित उपचारका लागि स्वास्थ्य सेवा कार्यालयका प्रमुखको संयोजकत्वमा जिल्ला स्वास्थ्य आपतकालीन निर्देशन समिति पनि तयार गरिएको छ ।
दक्षिणी हुम्लाका बासिन्दा त्रासमा
मंगलबार बाजुरा जिल्ला हुदै कवाडी नाकाबाट दक्षिणी हुम्लामा एक सय साठी जना हुम्लाबासी भित्रिए पछि ताँजाकोट र अदानचुलीका स्थानीय बासिन्दाहरु त्रासमा रहनु भएको छ । भारतका बिभिन्न क्षेत्रमा मजदुरी काम गरि घर फर्कनेको संख्या ठुलो भएपछि स्थानीय बासिन्दाहरु त्रासमा पर्नु भएको हो । ताँजाकोट गाउँपालिका वडा नम्बर २ को मैला गाउँका धर्म जोशीका अनुसार बाजुरा र हुम्ला जिल्लाको कवाडीमा बिना चेकजाँच ताँजाकोटमा धेरै मानिस भित्रिए पछि कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै स्थानीय त्रासमा बस्नु परेको बताउनु भयो । प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्तिमगरले कवाडीमा प्रहरीले रोक्न खोजे पछि स्थानीयले नमानेको कारण ठुलो संख्यामा मानिसहरु हुम्लामा प्रबेश गरेको बताउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?