प्रकाशविक्रम शाह
धनगढी, चैत १२ गते । मंगलबार साँझसम्म भारतबाट आएका नेपालीका कारण भीडभाड भएको धनगढीको त्रिनगरनाका बुधबार सुनसान भएको छ ।
नाका कडा बनाइएपछि भारतबाट आउनेहरु रोकिएको हुनसक्ने अनुमान छ । अर्कोतिर भारत पनि “लक डाउन” भएकोले नेपालीहरु घर फर्किन नपाएको हुन कि भन्ने भनाइ सुरक्षा अधिकारीहरुको छ ।
त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक महादेव भट्टका अनुसार बुधबार विहान नाका सुनसान छ, तरकारी, पेट्रोलियम पद्धार्थका गाडी पनि आज आएका छैनन् ।
मंगलबार भने झण्डै २४ घण्टापछि मात्रै भारतको विभिन्न स्थानबाट आएर सीमामा अलपत्र परेकालाई नेपाल आउन दिइएको थियो । २४ घण्टाजस्तो सीमामा अलपत्र भएपछि उनीहरुले नाराजुलुस गर्दे प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए । त्यसपछि प्रहरीले पनि सामान्य लाठी चार्ज गरेर उनीहरुलाई नियन्त्रणमा राखेको थियो ।
उनीहरुमध्ये धेरै जना सीमाबाट ३५ किलोमिटर टाढा पलिया बजारबाट हिडेर आएका थिए । भारतको लक डाउनका कारण गाडी नपाएर हिड्नु परेको कैलालीको अत्तरिया भक्तराज भट्टले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका अनुसार फागुन २३ देखि चैत्र ११ गतेसम्म सुदूरपश्चिमका विभिन्न नाकाहुँदै एक लाख ३५ हजार नेपालीहरु भारतबाट घर फर्किएका छन् ।