logo
२०८१ मंसिर ११ मंगलवार



कोरोना डरले गाउँ फर्किए मनाङी

प्रदेश |


कोरोना डरले गाउँ फर्किए मनाङी



बेलिना थापा
लमजुङ, चैत ११ गते ।

विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि देखिन थालेपछि सहर बस्दै आएका मनाङी गाउँ फर्केका छन् ।

सहर बजारमा कोरोनाको संक्रमण फैलन सक्ने भन्दै उनीहरु आफ्नै गाउँठाउँ फर्किएका हुन् । कोरोना संक्रमणबाट सुरक्षित रहन काठमाडौं, पोखरा लगायतको सहरमा बस्दै आएका मनाङका बासिन्दा लमजुङ हुँदै गाउँ गएका छन् । मनाङको नार गाउँका ७९ बर्षीया सोनाम छोमु गुरुङले कोरोनाको डरले रातारात काठमाडौंबाट बेंसीसहर आएको र मनाङ फर्किएको बताउनुभयो । उहाँले भन्नुभयो–‘एक महिना अझैं काठमाडौंमा बस्ने विचार गरेको थिएँ । कोरोना लाग्छ भनेर मन डरायो । डर लागेर मनाङ फर्किहाल्यौं ।’

मनाङको नार गाउँका ङिमा छिटे घलेले नेपालमा कोरोनाको संक्रमण देखिएपछि बच्नका लागि काठमाडौंबाट गाउँ फर्केको बताउनुभयो । ‘जताततै कोरोना भन्छन् । हामीलाई पनि कोरोना त लाग्ने होइन ? भन्ने लाग्यो । परिवार नै गाउँ फर्केका छौं’ उहाँले भन्नुभयो, ‘पुषमा मात्र काठमाडांै झरेको थिएँ । अहिले तत्काल फर्कने योजना थिएन । कोरोनाले छिटो फर्कन प¥यो ।’
नार गाउँ जानका लागि तयारी अवस्थामा बेंसीसहरमा भेटिनुभएका रितार फुन्जु लामाले कोरोनाको संक्रमण डरले काठमाडौंबाट फर्किएको बताउनुभयो । काठमाडौंबाट चार जना छोराछोरीलाई लिएर जिल्ला फर्किएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘कोरोना लागेर धेरै मान्छे म¥यो भन्छन् । काठमाडौं पनि सुरक्षित छैन भन्ने हल्ला चल्यो । यसको उपचार पनि छैन भन्छन् । डरैडरले हतार हतार गरी आएका हौं । तीन छोरी र एक छोरालाई साथमा लिएका आएका छौं ।’

कोरोनाको त्रास हटेपछि मात्र पुनः काठमाडौं जाने उहाँले बताउनुभयो । मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले चिसोका कारण काठमाडौं, पोखरा झरेका नागरिक जिल्ला फर्किएको बताउनुभयो । यसअघि सुनसान मनाङ जिल्लाका गाउँ अहिले भरिभराउ देखिन थालेको बताउनुभयो ।

कोरोना संक्रमणबाट बच्न जिल्ला फर्कनेको लर्को लागेको उहाँले बताउनुभयो । सोमबार राती लमजुङ सदरमुकाम बेंसीसहर आइपुगेका मनाङका बासिन्दालाई मनाङ प्रशासनको समन्वयमा ४ वटा जिपमार्फत मंगलबार मनाङ पठाइएको लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?