सुदूरपश्चिम ब्यूरो
धनगढी, चैत १३ गते । सुदूरपश्चिम प्रदेशमा भारतका विभिन्न स्थानबाट एक लाख ३५ हजारभन्दा बढी नेपाली नागरिक आएका छन् । रोजगारीका सिलसिलमा भारत गएका उनीहरू आफूले काम गर्ने उद्योगधन्दा, होटल, व्यवसाय बन्द भएपछि घर फर्किएका हुन् ।
कैलालीको धनगढी त्रिनगर, कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकी, बैतडीको झुलाघाट, दार्चुलालगायतका नाकाबाट नेपाल फर्किएकाहरूसँग सङ्क्रमण भित्रिन्छ भन्ने त्रास थियो तर नेपाल फर्किएका प्रायः सबैको अवस्था सामान्य देखिएपछि सुदूरपश्चिमका बासिन्दा धेरै हदसम्म सुरक्षित भएको अनुभव गरिरहेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो, यति धेरै नागरिक भारतबाट एकसाथ आउँदा स्थिति बिग्रिन्छ कि भनेर आफूहरू चिन्तित थियौँ तर मुख्यमन्त्री त्रिलोचन भट्टसमेतले आफूसँगको कुराकानीमा सबै स्वस्थ रहेको बताएपछि खुसी लागेको छ ।
यद्यपि अझै पनि भारतबाट आएकालाई निगरानीमा राख्नुपर्ने सुझाव धेरैको छ भने बैतडीमा केही व्यक्तिमा ज्वरो आएको भेटिएको छ । सुदूरपश्चिमका नाका प्रयोग गरेर बाग्मती र प्रदेश १ बाहेकका सबै प्रदेशका नागरिक यता भएर आएका थिए । यसैबेला डोटी र बैतडी जिल्लाका केही स्थानीय तहले भारतबाट आउनेलाई क्वारेन्टाइनमा राखेर राम्रो र उदाहरणीय काम गरिरहेका छन् ।
डोटीमा क्वारेन्टाइनमा राखियो
भारतबाट घर फर्किएकाहरूलाई डोटी जिल्लाका विभिन्न स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छन् । भारतीय सीमामा रोकिएका उनीहरूलाई मङ्गलबार मात्र सुदूरपश्चिम प्रदेश सरकारले घर पठाउने व्यवस्था गरेको थियो । डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार भारतबाट फर्किएका डोटी जिल्लाका दुई सय ४८ जनालाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेर १४ दिनसम्म राख्ने व्यवस्था गरेका छन् ।
स्थानीय तहले सार्वजनिक भवन, विद्यालय, सम्बन्धित वडा कार्यालयलगायतका स्थानलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरेका छन् । दिपायलदेखि सम्बन्धित स्थानसम्म लैजाने क्रममा लाग्ने यातायात खर्चदेखि क्वारेन्टाइनमा बस्दा लाग्ने सम्पूर्ण खर्च स्थानीय तहले बेहोरेका छन् ।
डोटीको दिपायल–सिलगढी नगरपालिका र केआईसिंह गाउँपालिकाले दिपायल राजपुरमा रहेको सेतीसभा हलमा ३२ जनालाई राख्ने व्यवस्था गरेका छन् । सायल गाउँपालिकाले वडा नम्बर ३ को कार्यालय भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको छ । बोगटान गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा क्वारेन्टाइन निर्माण गरेर ४४ जनालाई राखेको जनाएको छ ।
दिपायल–सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले भन्नुभयो, भारतबाट फर्किएका नगरपालिका क्षेत्रका व्यक्तिका लागि राजपुरस्थित सेती सभाहलमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बस्दा लाग्ने सम्पूर्ण खर्च हामीले बेहोरेका छौँ ।
भारतबाट फर्किएकाहरू क्वारेन्टाइनमा बस्न नमानेपछि केहीबेर सम्झाइबुझाई गर्नुपरेको थियो । लगातार आठ दिनको यात्राको कारण थकित भइसकेका हुँदा आफूलाई फेरि क्वारेन्टाइनमा बस्न कठिनाइ हुने धेरैको भनाइ थियो ।
त्रिनगर सीमा सुनसान
मङ्गलबार साँझसम्म भारतबाट आएका नेपालीका कारण भीडभाड भएको धनगढीको त्रिनगर नाका बुधबार सुनसान भएको छ । नाकामा कडाइका साथै भारत पनि लकडाउन भएकोले नेपालीहरू घर फर्किन नपाएका हुन् कि भन्ने भनाइ सुरक्षा अधिकारीहरूको छ ।
त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक महादेव भट्टका अनुसार बुधबार बिहान नाका सुनसान छ, तरकारी, पेट्रोलियम पद्धार्थका गाडी पनि आज आएका छैनन् ।
मङ्गलबार भने झण्डै २४ घण्टापछि भारतको विभिन्न स्थानबाट आएर सीमामा अलपत्र परेकालाई नेपाल आउन दिइएको थियो । सीमामा अलपत्र भएपछि उनीहरूले नाराजुलुस गर्दै प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए । त्यसपछि प्रहरीले पनि सामान्य बल प्रयोग गरेर उनीहरूलाई नियन्त्रणमा राखेको थियो ।
उनीहरूमध्ये धेरैजसो सीमाबाट ३५ किलोमिटर टाढा पलिया बजारबाट हिँडेर आएका थिए । भारतको लकडाउनका कारण गाडी नपाएर पैदल हिँड्नुपरेको कैलाली, अत्तरियाका भक्तराज भट्टले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका अनुसार फागुन २३ देखि चैत ११ गतेसम्म सुदूरपश्चिमका विभिन्न नाकाहुँदै एक लाख ३५ हजार नेपालीहरू भारतबाट घर फर्किएका छन् ।
यसैबीच सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पीपीई वितरण गरेको छ । प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोसाक अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलब्ध गराइएको हो । मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई चार थान पीपीई उपलब्ध गराएको हो ।
परीक्षणका लागि नमुना पठाउन समस्या
सुदूरपश्चिम प्रदेशबाट कोरोना सङ््क्रमणको आशङ्का गरिएका व्यक्तिको थ्रोट स्वावको नमुना परीक्षणका लागि काठमाडौँ पठाउन समस्या भएको छ ।
काठमाडौँ–धनगढी हवाई उडान बन्द भएपछि नमुना पठाउन समस्या भएको हो । यहाँ थ्रोट स्वाव परीक्षण गर्ने प्रयोगशाला नभएका कारण शङ्कास्पद व्यक्तिको थ्रोट स्वावको नमुना परीक्षणका लागि काठमाडौँ पठाउने गरिएको छ । ‘लक डाउनले हवाई सेवासमेत बन्द भएपछि हामीलाई थ्रोट स्वावको नमुना पठाउन धेरै समस्या भएको छ, प्रयोगशालाका निमित्त निर्देशक अस्मिता सापकोटाले भन्नुभयो, प्रदेश सरकारले नमुना तुरुन्तै काठमाडौँ पठाउन सकिने गरी विकल्पको व्यवस्था गर्नुपर्दछ ।
सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखिएका शङ्कास्पद व्यक्तिको थ्रोट स्वाव नमुना परीक्षणका लागि काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको छ । धनगढीबाट पठाइएको नमुनाको रिपोर्ट आउन तीन दिन लाग्ने गरेको छ । हवाई सेवा ठप्प भएपछि थ्रोट स्वावको नमुना पठाउन नै ढिलाइ हुने भएको सापकोटाको भनाइ छ ।
धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालबाट हालसम्म १४ जना शङ्कास्पद व्यक्तिको नमुना परीक्षणको लागि पठाइएकोमा सबैको परीक्षण रिपोर्टमा सङ्क्रमण नरहेको देखिएको छ ।
बजारमा लकडाउन, मन्दिरमा भीडभाड
नेपाल–भारत दुवै देशले लकडाउन गरेको बेला सीमा नाकाबाट लुकीछिपी आउनेहरू भने बढ्न थालेका छन् भने मन्दिरमा पूजाआजा गर्नेका कारण भीडभाडसमेत बढ्न थालेको छ ।
कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउन बजारमा पूर्णतया पालना भए पनि मन्दिरमा भीडभाड गर्नेहरू बढेको बैतडी प्रहरीले जानकारी दिएको छ । अन्धविश्वासले लकडाउन मानेनन्, मन्दिरमा भीडभाड भइरहेको छ, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले भन्नुभयो, मन्दिरमा भीडभाड हुन नदिन स्थानीय तहका जनप्रतिनिधिले ध्यान पु¥याएनन् । जनप्रतिनिधि आफैँ मन्दिरमा टीका लगाउन जान थालेका छन् ।
मङ्गलबार महाकाली सीमा नदीमा ट्युब तरेर नेपाल आउँदै गरेका पाँच जनालाई बैतडी सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका दुई जनामा ज्वरो आउने समस्या देखिएको छ ।
यसैबीच लकडाउनका बेला भारतबाट गौरीफन्टा नाका हुँदै कैलालीको धनगढीबाट प्रहरी स्कर्टिङमा बैतडी आइपुगेका ८५ जनालाई स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । गौरीफन्टा नाका भएर बैतडी पुगेकालाई स्थानीय तहका जनप्रतिनिधि बोलाएर जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
(प्रकाशविक्रम शाह/ डिलबहादुर सिंह/गोकर्ण दयाल/अविनाश चौधरीको सहयोगमा )