टीकाबहादुर बस्नेत
दाङ, चैत १४ गते । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यावसहितको कोरोना विशेष अस्पतालका रुपमा सञ्चालन हुने भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको पहलमा प्रतिष्ठान कोरोना विशेष अस्पताल बन्ने भएको हो ।
प्रदेश ५ मा ४ ओटा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको भन्दै मुख्यमन्त्री शंकर पोख्रेलले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ल्यावसहितको कोरोना विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याउने बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले शुक्रबार फेसबुक स्टासमा भन्नुभएको छ, ‘माननीय स्वास्थमन्त्रीसँगको कुराकानीपछि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान ल्यावसहित कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन हुने भएको छ ।’
दाङको बेलझुण्डीमा ३० बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको केही दिनभित्रै मुख्यमन्त्री पोख्रेलको सक्रियतामा प्रतिष्ठानमा ल्यावसहितको कोरोना विशेष अस्पताल सञ्चालनमा आएसँगै कोरोनाको उपचारमा सहज बन्ने भएको छ । जिल्लाका सरोकारवाला निकायहरुको आग्रहपछि मुख्यमन्त्री पोख्रेलले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग कुराकानी गरी प्रतिष्ठानलाई ल्यावसहितको कोरोना विशेष अस्पताल बनाउन पहल गर्नुभएको थियो ।
जिल्लाका सरोकारवाल निकायसँगको छलफलमा उपस्थित नभई प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले सरकारले प्रतिष्ठानलाई सहयोग नगरेको सामाजिक सञ्चालमार्फत् जानकारी गराउँदै आउनुभएको थियो । गत चैत १२ गते प्रदेश ५ का संघीय मामीला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा दाङको बेलझुण्डीमा आयोजित जिल्लाको स्वास्थ्य व्यवस्थापनको बैठकलाई उपकुलपतिले बहिस्कार गर्नुभएको थियो ।
घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, राप्ती प्रादेशीक अस्पताल, आयुर्वेदिक अस्पताललगायतका स्वास्थ्यसँग सम्बन्धित सरोकारवालाहरुको बैठकमा उपकुलपतिलाई आमन्त्रण गरिएको भए तापनि उहाँ अनुपस्थित हुनुभएको थियो । प्रदेश ५ सरकारद्वारा स्थापित कोरोना विशेष अस्पतालका लागि जनशक्तिको व्यवस्थापन गर्नका लागि बोलाइएको बैठक डा. भण्डारीका अनुपस्थितिका कारण १ घण्टा ढिलो गरी सञ्चालनमा आएको थियो ।