मुरारी अधिकारी
धादिङ, चैत्र १५ गते । नीलकण्ठ नगरपालिकाले शनिबार सदरमुकाम धादिङबेसीका सार्वजनिक स्थलहरुमा सोडियम हाइड्रोक्लोराइड छरेको छ । धादिङबेसीको मुख्य सडकको दायाँबायाँ सोडियम हाइड्रोक्लोराइड छर्ने काम भएको हो ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना (कोभीड–१९) को नियन्त्रणका लागि सोडियम हाइड्रोक्लोराइड छरिएको नीलकण्ठ नगरपालिकाले जनाएकोछ । दुईसय पचास लिटर सोडियम हाईड्रोक्लोराइड दुईसय पचास लिटर पानीमा मिसाएर सार्वजनिक स्थलमा छरेको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद रिजालले बताउनुभयो । यतिले मात्रै धादिङबेसीका सार्वजनिक स्थलमा छर्न नपुग्ने भन्दै रिजालले आइतबार पनि थप सोडियम हाईड्रोक्लोराइड छर्ने कार्यक्रम रहेको बताउनुभयो ।
रिजालका अनुसार सोडियम हाईड्रोक्लोराइडले कोरोनाका किटाणुहरु नष्ट गर्ने नभई अन्य ब्याक्टेरिया भाइरसहरुलाई नियन्त्रण गर्ने काम गर्ने भएकोले यस्तो गरेको बताउनुभयो । कोरोनाको संक्रम बढेका बेला अन्य ब्याक्टेरियाहरुले मानिसको रोग विरुद्ध लड्ने क्षमता कम गराउनसक्ने भएकोले ब्याक्टेरिया मार्न सोडियम हाईड्रोक्लोराइड छर्कनु परेको रिजालको भनाई छ ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले कोरोना संक्रमणका बेला नगरबासीलाई सुरक्षित राख्न विभिन्न उपायहरु अपनाइरहेको बताउनु भएको छ । दैनिकजसो गाउँगाउँमा घर बाहिर ननिस्कन, धेरैजना जमघट नहुन र सुरक्षाका उपायहरु अवलम्बन गर्न माइकिङ गरिरहेको र बजारबासीलाई अन्य ब्याक्टेरिया भाइरसबाट जोगाउन सोडियम हाईड्रोक्लोराइड छरेको बताउनुभयो । गर्मिबढेसंगै लामखुट्टेबाट पनि विभिन्न रोगहरु सर्नसक्ने भएकोले त्यसका विरुद्ध पनि सोडियम हाईड्रोक्लोराइड छरेको नगर प्रमुख ढुंगाना बताउनुहुन्छ ।