विष्णुप्रसाद पोखरेल
दमक, चैत १९ गते । मेची अञ्चल अस्पतालमा कोरोना संक्रमणको आशंकामा राखिएका तीनजना विरामीमा कोरोना फेला नपरेको बताइएको छ । घाँटी भित्रको स्वाब परीक्षण गर्दा कोरोनाका भाइरसको संक्रमण नदेखिएको जिल्ला समन्वय समिति झापाका प्रमुख एवं कोरोना रोकथाम तथा व्यवस्थापन समितिका मूल संयोजक सोमनाथ पोर्तेलले बताउनुभयो ।
कोरोना भाईरसको संक्रमणको आंशकामा पाँच दिन अघिदेखि ३ जना मेची अञ्चल अस्पतालको आइसोलेसनमा रहनुभएको थियो । यसभन्दा अघि झापा गौरादहका एक विरामीको पनि परीक्षण रिर्पोट नेगेटिभ आएको पनि उहाँले जानकारी दिनुभयो ।
झापाका १५ वटै स्थानीय तहबाट शंकास्पद कोरोनाका विरामीहरुलाई उपचार गर्न तथा आइसोलेसनमा राख्न मेची अञ्चल अस्पताल तोकिएको छ । यसभन्दा अघि परीक्षणका लागि काठमाडौं पठाउनु पर्नेमा अब धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा नै पठाउन सकिने भएकाले रिर्पोट आउन लामो समय लाग्दैन, पोर्तेलले भन्नुभयो ।
सवारी पास विवतरण बन्द
यसैबीच, कोरोना भाइरसको संक्रमण रोक्नका लागि लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय दमक र गौरीगन्जमा सवारी पास लिने भिड बढेपछि यस्तो पास वितरणमा रोक लगाईएको छ । अत्यावश्यक कामका लागि पास सवारी पास वितरण हुँदै आएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार अर्को निर्णय नभएसम्मका लागि पास वितरण बन्द गरिएको हो ।
यसैबीच, झापाको मेचीनगरमा ३९ जना भारतीय मजदुरलाइ एकै ठाँउमा अस्थायी सुरक्षित आवास बनाएर राखिएको छ । नेपालबाट भारत जान लागेकालाई नेपालमा नै र भारतबाट नेपाल आउन लागेकालाई भारतमा नै राख्ने सहमति अनुसार नगरपालिकाले खाद्य सामाग्री उपलब्ध गराउने गरी मेचीनगर २ स्थित श्री मेची जनसाधारण मा.वि.को भवनमा राखिएको छ ।
यो क्वारेन्टाइन नभएर अस्थायी रुपमा उनीहरुलाई राखिएको हो, मेचीनगर २ का वडा अध्यक्ष तिलक न्यौपानेले बताउनुभयो । काम बन्द भएपछि उनीहरु आफ्नो घर जाने तयारीमा रहेका थिए । अधिकांश भारतको विहार राज्य बासिन्दा रहेका छन् ।