देवराम प्रसाद यादव
सप्तरी चैत २२ गते । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षणमा भाइरस फेला नपरेको जनाएको छ ।
कोरोना भाइरसको आशङ्कामा स्वाब टेष्टका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको नौ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको गनासिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
भारतका दिल्लीस्थित मुस्लिम संस्था तबलिगि जमातको मुख्यालयमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका आठ तथा गत चैत्र ४ गते फ्रान्सको विमानमा नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका एकगरी नौ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो ।
वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजित झाको नेतृत्वमा सबै जनाको स्वाबको नमूना सङ्कलन गरिएको थियो। परीक्षण रिपोर्ट नेगेटिभ आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु डा. दासले बताउनुभयो ।