गण्डकी समाचारदाता
पोखरा, चैत २७ गते । कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएका जिल्लाहरुमा –यापिड टेस्ट गर्ने नेपाल सरकारको निर्णय अनुसार बागलुङमा परीक्षणको काम शुरु गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली बागलुङ आई परीक्षणको काम सुरु गरेको हो ।
टोलीले बागलुङ, पर्वत र म्याग्दीका २५ जना स्वास्थ्य प्राविधिकहरुलाई ¥यापिड टेस्ट किट सम्बन्धी तालिम दिएर परीक्षणको काम सुरु गरेको थियो । तालिमपछि तीन जना स्वास्थ्य प्राविधिकहरुको नमूना जाँच गरेर प्रक्रिया सुरु गरिएको र उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको धौलागिरि अञ्चल अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो ।
सरकारले बागलुङमा कोरोना भाइरस संक्रमण देखिएका दुई जना, विदेशबाट आएका नौ सय र उनीहरुको सम्पर्कमा आएका करिब एक सय जना गरी एक हजार व्यक्तिको परीक्षण गर्नेगरी आवश्यक सामग्री सहित टोली बागलुङ आइपुगेको स्वास्थ्य सेवा विभागका बरिष्ठ मेडिकल ल्याव टेक्निसियन धनप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमण भएको नभएको पुष्टी गर्नका लागि पिसिआर मेसिनको प्रयोग गर्नुपर्दा देशभरीको नमूना संकलन र परीक्षणमा समय लाग्ने भएकाले ¥यापिड टेस्ट गर्न लागिएको पौडेलले बताउनुभयो । –यापिड टेस्ट किटको प्रयोग गरेर गरिने नमूना परीक्षणका क्रममा पोजेटिभ देखिएमा त्यसको नमूना पुनः पिसिआर मेसिनबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको पौडेलले बताउनुभयो ।
बागलुङमा एक हजार बढीको संख्यामा नमूना परीक्षण गर्नुपर्ने भएको र पिसिआर मेसिनबाट त्यो सम्भव नहुने भएकाले किटको प्रयोग गरेर परीक्षण सुरु गरिएको हो । बागलुङमा विभिन्न मुलुकबाट आएर क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेका सबैजनाको परीक्षण गरिने भएकाले कहाँबाट सुरु गर्ने भन्ने बारेमा तत्काल निर्णय गरेर अगाडि बढ्ने जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
धौलागिरि अञ्चल अस्पताल बागलुङका प्रयोगशाला प्रमुख सुरज बरालले –यापिड टेस्ट अन्य रोगहरुको परीक्षण गर्दापनि प्रयोग गर्ने गरिएपनि कोरोना भाइरसको पहिलो पटक उक्त टेस्ट गर्न लागिएको बताउनुभयो । –यापिड टेस्ट सम्भावित संक्रमित भएकै ठाउँमा पुगेरै गर्न सकिने भएपनि कसरी गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बरालले जानकारी दिनुभयो ।
यस्तै गण्डकी प्रदेशबाट २५९ वटा नमूना संकलन गरिएको छ । जसमध्य १७९ जनाको रिपोर्ट नेगेटिभ, दुई जनाको पोजेटिभ र ७८ जनाको रिपोर्ट आउँन बाँकी रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । एक साता अगाडि पोखरामा नै कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउँन पिसिआर मेसिन जडान गरिएपछि छिटो छिटो रिपोर्ट आउँन थालेको निर्देशनालयले जनाएको छ ।