logo
२०८१ फाल्गुन १ बिहीवार



राष्ट्रिय गौरवका योजनाले गति पाउँदै

प्रदेश |


राष्ट्रिय गौरवका योजनाले गति पाउँदै



राममणि दाहाल

हेटौँडा, वैशाख ७ गते । लामो समयको बन्दाबन्दीका कारण अधिकांश विकास योजनाको निर्माण कार्य ठप्प प्रायः रहेको छ । बन्दाबन्दीका बीचमा राष्ट्रिय गौरवका योजनालाई निरन्तरता दिने सरकारको निर्णयसँगै बाग्मती प्रदेशका केही योजनाको कामले निरन्तरता पाएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमका बीच विकास आयोजनाको निर्माणका कामलाई निरन्तरता दिन थालिएको हो । राष्ट्रिय गौरवको योजना हेटौँडा–धरान–चतरा सडकको सिन्धुली–हेटौँडा सडक खण्डमा पर्ने बाग्मती पुलको निर्माण कार्य सुचारु गरिएको छ । पश्चिमी क्षेत्र आयोजनाका आयोजना प्रमुख अर्जुन अर्यालले सडकको काम रोकिए पनि बाग्मतीमा पुल निर्माणले बिहीबार निरन्तरता पाएको जानकारी दिनुभयो । बाग्मती प्रदेश सरकारले भीमफेदीदेखि दुई भागमा विभाजन गरी कुलेखानीसम्मको सडक चौडा र मर्मत सम्भारको काम भइरहेको प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेव भण्डारीले जानकारी दिनुभयो ।

मध्यपहाडी राजमार्ग सुचारु गर्न पहल
काभ्रेपलाञ्चोक समाचारदाता मधुसुधन तिमल्सिनाका अनुसार बन्दाबन्दीका कारण निर्माण रोकिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माण सुरु गरिने भएको छ । मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलका सूचना अधिकारी ईश्वर कार्कीले रोकिएको काम स्थानीय कामदारलाई लगाएर काम सुचारु गर्न निर्माण व्यवसायीलाई अनुरोध गरिएको र केही दिनभित्रमै काम सुचारु हुने बताउनुभयो ।
योजना कार्यालय धुलिखेलका प्रमुख शिवराज अधिकारीले काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, रामेछाप, सिन्धुली, उदयपुर, ओखलढुङ्गा र खोटाङ जिल्लामा ३४० किलोमिटर सडक निर्माण आयोजनाको कार्य क्षेत्र रहेको बताउँदै खोटाङ जिल्लामा काम भइरहेको छ भन्नुभयो ।

मेलम्ची खानेपानीमा काम हुँदै
सिन्धुपाल्चोक समाचारदाता चित्र मिजारका अनुसार बन्दाबन्दीमा पनि मेलम्ची खानेपानी आयोजनामा काम रोकिएको छैन । एक सयको हारहारीका मजदुरले काम गरिरहेका आयोजनामा काममा लगाउँदा सुरक्षा सतर्कता अपनाइएको र सबैलाई क्याम्पमा राखेर काममा लगाइएको छ ।
निर्माण सामग्री अभावले समस्या आएको भन्दै आयोजना प्रमुख त्रिसप्रसाद खत्रीले आयोजनाको सुरुङमार्गको सरसफाइ, भल्बको गेट, हेडवक्र्सका काम चलिरहेको जानकारी दिनुभयो । प्रत्येक दिन मजदुरको तापक्रम लिने र भौतिक दूरी कायम गरी काममा लगाइएको छ ।

त्रिभुवन राजपथको मर्मत सम्भार
धादिङ समाचारदाता मुरारी अधिकारीका अनुसार त्रिभुवन राजपथको नौबिसे–पिप्लामोड सडकको मर्मत सम्भारको काम सुरु गरिएको छ । सवारी चापका कारणले सडक मर्मत सम्भारमा समस्या भइरहने यस क्षेत्रमा बन्दाबन्दीलाई अवसरका रूपमा सदुपयोग गर्दै मर्मत सम्भार र कोलापत्रेको कामलाई अगाडि बढाइएको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?