logo
२०८१ फाल्गुन १ बिहीवार



भारतीय क्वारेन्टाइनका नेपालीलाई नेपालको जिम्मा

प्रदेश |


भारतीय क्वारेन्टाइनका नेपालीलाई नेपालको जिम्मा


प्रदेश ५ ब्युरो

बुटवल, वैशाख १३ गते । दुई देशको सहमति अनुसार सीमा नजिक आआफ्ना देशका क्यारेन्टाइनमा रहेका अर्को देशका नागरिकलाई जिम्मा लगाउन थालिएको छ । झण्डै तीन साताको क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य चेक जाँच गरी सम्बन्धित देशलाई बुझाउन सुरु भएको हो ।
सुनौली नाकामा यस्तो कार्य सुरु भएको छ । यस्तो कार्य थाल्दै भारतले सीमा नजिक भारतीय क्षेत्रका क्यारेन्टाइनमा रहेका नेपालीमध्ये कैयौँलाई प्रक्रिया पु¥याएर नेपाललाई हस्तान्तरण गरेको छ । बाँकीलाई पनि क्रमशः बुझाउने जनाएको छ ।

१२५ लाई नेपाल ल्याइयो
भैरहवा समाचारदाताका अनुसार भारतीय क्वारेन्टाइनमा रहेका नेपालीमध्ये १२५ लाई शुक्रबार नेपाल ल्याइएको छ । अपरान्ह भारतीय अधिकारीहरूले क्वारेन्टाइनमा बसेका नेपालीहरूलाई बेलहियामा नेपाल सरकारको जिम्मा लगाएका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतको क्वारेन्टाइनमा करिब ३०० जना नेपााली बसेको र उनीहरूमध्ये शुक्रबार १२५ जनालाई नेपाल ल्याइएको बताउनुभयो । तीन साताको क्वारेन्टाइन बसाई पूरा गरेपछि उनीहरूलाई स्वास्थ्य चेकजाँच गरी नेपाल ल्याइएको हो । उनीहरूको ¥यापिड टेस्ट गरेपछि सम्बन्धित जिल्लामा पठाइने प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।
भारतले नौतनवाका विद्यालय र कलेजका तीनवटा अलग अलग स्थानका क्वारेन्टाइनमा नेपालीलाई राखेको थियो । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम थापाले क्वारेन्टाइनमा बसेका नेपालीको अवस्था सामान्य रहेको बताउनुभयो ।

स्प्रे टनेल जडान
रुपन्देही समाचारदाताका अनुसार तिलोत्तमा नगरपालिको बुटवल–भैरहवा सडक खण्डस्थित योगीकुटी चोकमा अटोमेटिक सेनिटाइजर स्प्रे टनेल जडान गरिएको छ । लकडाउनको समयमा अत्यावश्यक सेवासँगै अन्य गाडीसमेत सडकमा सञ्चालन भइरहेकाले सेनिटाइज गर्ने गरी लेन सडकमै सेनिटाइजर स्प्रे टनेल जडान गरिएको हो । शङ्करनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था योगीकुटीले बुटवलबाट तिलोत्तमा नगरपालिका प्रवेश गर्ने योगीकुटी चोकमै उक्त स्प्रे टनेल जडान गरेको हो । स्प्रे मेसिनमा जडान गरिएको सेन्सरले सडकमा गाडी आएको थाहा पाउने र मेसिनमार्फत अटोमेटिक स्प्रे हुने संस्थाका कार्यालय प्रमुख इन्जिनियर दीपक पाण्डेले जानकारी दिनुभयो ।

बैठक भत्ता कोषमा
तानसेन समाचारदाताका अनुसार स्थानीय तहका जनप्रतिनिधिले बैठक भत्ताबापतको रकम कोरोना राहत कोषमा सङ्कलन गरिरहेका छन् । तानसेन नगरपालिका, बगनासकाली र रिब्दीकोट गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ताबापत पाउने रकम कोरोना राहत कोषमा सङ्कलन गरेका हुन् । तानसेन नगरपालिकाका जनप्रतिनिधिहरूले पाँचवटा बैठकको भत्ता राहत कोषमा सङ्कलन गरेको नगरपालिकाले जनाएको छ ।

घरघरमै सुरक्षा भत्ता
तम्घास समाचारदाताका अनुसार गुल्मीको मालिका गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लकडाउनका कारण वृद्धवृद्धाहरू बैङ्कसम्म जानसक्ने अवस्था नभएका कारण घरमै गएर सामाजिक दूरी कायम गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो ।

यात्रुलाई सडकमै खाना
देउखुरी समाचारदाताका अनुसार लकडाउन लम्बिँदै गएपपछि काठमाडौँमा ज्याला मजदुरी गर्ने मानिसहरू घर फर्कन थालेका हुन् ।
यस्ता यात्रु र पैदल यात्रुलाई लक्षित गरेर दाङको लमही नगरपालिका वडा नम्बर १ डोँडहीका स्थानीयले सडकमै खाना पकाएर खुवाउन थालेका छन् । स्थानीय चिरञ्जीवी आचार्यका अनुसार स्थानीयहरूले स्वस्फूर्त रूपमा खाद्यान्न सङ्कलन गरेर सडकमै भान्छा सञ्चालन गरेका हुन् । यस्तै पतञ्जली योग समिति लमही नगरपालिकाले पनि लमहीको बसपार्कमा खानाको व्यवस्था गरेको छ ।

दस लाखका सामग्री सहयोग
प्युठान समाचारदाताका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले जिल्लाका स्थानीय तहलाई कोरोना सङ्क्रमणविरुद्ध प्रयोग हुने सुरक्षित सामग्री उपलब्ध गराउनुभएको छ । उहाँले आफ्नो गृह जिल्लामा दस लाख रुपियाँ बराबरको सहयोग सामग्री उपलब्ध गराउनुभएको स्वकीय सचिव विजयविराज विष्टले जानकारी दिनुभयो । सुरक्षित सामग्रीमा पीपीई सेट, सेनिटाइजर, माक्स, ग्लोब्स, हेड क्याप रहेका छन् ।

सर्जिकलमा बढी मूल्य
बाँके समाचारदाताका अनुसार लकडाउनका समयमा सर्जिकल सामान बढी मूल्यमा बिक्री भएको पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बजार अनुगमनका क्रममा बढी मूल्य लिने मेडिकल फर्मलाई जरिवाना गराएको छ । वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले चैत ९ गते यता बजार अनुगमनका क्रममा १० वटा फर्म र पसल कारबाही गरेको जानकारी दिनुभयो ।

नयाँ पीसीआर मेसिन सञ्चालन
भैरहवा समाचारदाताका अनुसार भैरहवामा ल्याइएको नयाँ आरटी पीसीआर मेसिन सञ्चालनमा आएको छ । मेसिनलाई चाहिने सामग्री र सेटिङ गर्ने इन्जिनियर काठमाडौँबाट आएसँगै सञ्चालनमा आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । नयाँ मेसिन सञ्चालनमा आएपछि अब दैनिक ७० देखि ९० वटासम्म नमुना परीक्षण गर्न सकिने पनि छ ।

क्वारेन्टाइनमै मदिरा सेवन गरी कुटपिट
तम्घास समाचारदाताका अनुसार गुल्मीमा क्वारेन्टाइनमै मदिरा बिक्री भएको खुलेको छ । इश्मा गाउँपालिका वडा नं २ को पालुखा माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा बसेकालाई नजिकैको पसल सञ्चालकले मदिरा पु¥याइदिने गरेको खुलेको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले बताउनुभयो ।
उहाँका अनुसार क्वारेन्टाइनमा बसेका अमरपुरका २४ वर्षीय गोपाल गिरीले मदिरा सेवन गरी आफूसँगै बसेकी श्रीमती २० वर्षीया पुष्पा गिरीलाई कुटपिट गरेको र बारबार तनाव दिने गरेका हुन् । गिरीलाई गाउँपालिकाको नियमअनुसार पाँच हजार जरिवाना तिराइएको इश्मा प्रहरी चौकीले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?