राजन रावत
सिमकोट, वैशाख २० गते । बन्दाबन्दीमा नेपालगंज र सुर्खेतमा अलपत्र परि शनिबारबाट हवाई मार्गबाट उद्धार गर्न सुरु गरिएका नागरिकलाई कर्णाली प्रदेश सरकारले हवाई टिकटका पचास प्रतिशत अनुदान दिने भएको छ ।
अध्ययन र उपचारका लागि जिल्ला बाहिर रहेको बेला बन्दाबन्दी सुरु भएपछि नागरिक एक महिना भन्दा बढी समय अलपत्र परेपछि राहत स्वरुप हवाई टिकटमा अनुदान दिने व्यवस्था कर्णाली प्रदेश सरकारले गरेको हो ।
सडक सञ्जाल नजोडिएका कर्णालीका हिमाली जिल्लाका अलपत्र विद्यार्थी र साठी वर्ष माथिका नागरिकलाई हवाई टिकटमा पचास प्रतिशत कर्णाली प्रदेश सरकारले अनुदान दिने सामाजिक विकास मन्त्री दलबहादुर रावलले बताउनुभयो ।
शनिबार विहान बसेको मन्त्रीहरुको बैठकले सो निर्णय गरेको हो । एक महिनासम्म नागरिकहरु नेपालगंज र सुर्खेतमा होटेल बस्दा धेरै खर्च भएको र उनीहरुलाई केही रुपमा राहत पुगोस भन्नका लागि टिकटमा पचास प्रतिशत अनुदानको ब्यबस्था गरिएको मन्त्री रावतले बताउनुभयो । नेपालगंजबाट सिमकोटका लागि प्रति यात्रु दश हजार पाँच सय रुपियाँ टिकट दर रहेको छ ।
प्रदेश सरकारको यो निर्णय पछि अब हुम्ला र डोल्पा हवाई मार्गबाट उद्धार गरिने सबै बिधार्थी र साठी बर्ष माथिको नागरिकले टिकटमा अनुदान पाउनेछन् । उद्धार कार्य सुरु भएकोले अब सिधै जिल्ला प्रहरी कार्यालयमा जिल्ला पुगेका नागरिकले साठी बर्ष माथिकाले नागरिकताको फोटोकपी र बिधार्थी परिचय पत्र पेश गर्नु पर्नेछ ।
उद्धार कार्य आजबाट सुरु भएकोले जेष्ठ नागरिक र विद्यार्थी कति छन् भन्ने एकिन भएको छैन । हुम्लामा हवाई मार्गबाट उद्धार गरिने नागरिक ८९५ जना रहनु भएको छ । प्रदेश सरकारलाई अलपत्र नागरिकको हवाई टिकटमा अनुदानको व्यवस्थाका लागि चौतर्फी दवाव आएको थियो । सडक सञ्जाल नजोडिएका कर्णालीका हुम्ला र डोल्पा जिल्लाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले नेपालगंज र सुर्खेतमा बन्दाबन्दीमा अलपत्र नागरिकको हवाई मार्गबाट उद्धार गर्ने निर्णय यसअघि नै गरेको थियो ।