logo
२०८१ मंसिर १२ बुधवार



भारतबाट लुकिछिपी नेपाल छिर्दा जोखिम

प्रदेश |


भारतबाट लुकिछिपी नेपाल छिर्दा जोखिम


सिराज खान

बुटवल,बैशाख २० गते । सिमा क्षेत्रमा कडाई गरिएपनि लुकिछिपी भारतबाट नेपाल छिर्ने प्रबृति नरोकिएपछि प्रदेश ५ मा कोरोनाको जोखिम देखिएको छ । भारत र नेपाल दुबैतिर लकडाउन रहेपनि झण्डै चार सय किलोमिटर खुल्ला सिमाना रहेको यो प्रदेशमा बिभिन्न बहानामा भारतबाट नेपाल छिरिरहेका घटना सार्वजनिक भएका छन् ।
पछिल्लो पटक लकडाउनकै बेला भारतबाट चोरबाटो हुंदै नेपाल फर्किएका रुपन्देहीका युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार मात्रै यो प्रदेशमा रुपन्देही र बांकेका गरी दुई जनामा कोरोना संक्रमण देखिएको थियो ।
प्रदेशका सामाजिक बिकासमन्त्री सुदर्शन बरालले यस्तो प्रबृति रोक्न प्रदेश सरकार कडाईका साथ अघि बढेको बताउनु भयो । उहांका भनाईमा यसबारे सिमा क्षेत्रका पालिका र सुरक्षा निकायका प्रमुखहरुसंग नियमित सम्पर्क र समन्वय भईरहेको छ ।

गाईबाख्रा चराउने बहानामा प्रवेश
भैरहवा समाचारदाताका अनुसार नेपाल–भारत सीमा शिल गरिए पनि अझै लुकिछिपी नेपाल आउने क्रम रोकिएको छैन । रुपन्देही जिल्लास्थित नेपाल–भारतको खुला सीमानाकामा रोहिणी, डण्डा, कोठी, दानव नदी तरेर तथा गाईबाख्रा चराउने बहानामा मानिसहरु नेपाल प्रवेश गरेको पाइएको छ ।
गत बुधबार मात्रै भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका एक युवालाई गाउँलेहरुले गैंडहवा क्वारेन्टाइनमा पु¥याएको गैंडहवा गाउँपालिकाका स्वास्थ्य संयोजक विष्णु उपाध्यायले बताउनुभयो । त्यस्तै भारतबाट एक साताभित्र लुकिछिपी आएका १३ जना युवालाई लुम्बिनीको क्वारेन्टाइनमा राखिएको लुम्बिनी सांस्कृतिक नगरपालकाका स्वास्थ्य संयोजक ध्रुव घिमिरेको भनाइ छ ।
सीमानाकामा सुरक्षा सतर्कता बढाउँदा बढाउँदै पनि अपवादको रुपमा केही व्यक्तिहरु नेपाल प्रवेश गरेको सशस्त्र प्रहरी नम्बर २७ गणका प्रहरी नायब उपरीक्षक निरंकार शुक्लाले बताउनुभयो ।
सबैको स्वाब संकलन शुरु
नेपालगञ्ज समाचारदाताका अनुसार नेपालगञ्जमा शुक्रवार भेटिएका कोरोना भाइरसका संक्रमित ६० वर्षिय व्यक्तिको परिवार र उनको सम्पर्कमा आएका सबैको नाम ठेगाना पत्ता लगाएर कोरोना परिक्षण गर्ने प्रक्रिया शुरु गरिएको छ । सो क्रममा संक्रमितका परिवार, आफन्त नातागोता र सम्पर्कमा आएका सबैको स्वाब संकलन शनिवार विहानैदेखि शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
संक्रमित पुरुषले स्थानीय मस्जिदमा दिनको ५ पटक अजान दिनुका साथै वरिपरिका बालबालिकाहरुलाई होम ट्युसन समेत पढाउने गरेको पत्ता लागेको छ । संक्रमितसँग सम्पर्कमा आएका बालबालिका लगायत उनको परिवार सदस्य गरि करिब १ सय जनाको स्वाब संकलन गरिने फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनु भयो । यसैविच शुक्रवार शंकास्पद रिपोर्ट आएका दोस्रो पुरुषको स्वाब पुनः संकलन गरेर परिक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?