प्रदेश ५ ब्युरो
बुटवल, वैशाख २१ गते । सीमाक्षेत्रमा कडाइ गरिए पनि लुकीछिपी भारतबाट नेपाल छिर्ने प्रवृत्ति नरोकिएपछि प्रदेश ५ मा कोरोनाको जोखिम देखिएको छ । भारत र नेपाल दुवैतिर बन्दाबन्दी रहे पनि झन्डै चार सय किलोमिटर खुला सिमाना रहेको यो प्रदेशमा विभिन्न बहानामा भारतबाट नेपाल छिरिरहेका घटना सार्वजनिक भएका छन् । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले यस्तो प्रवृत्ति रोक्न प्रदेश सरकार कडाइसाथ अघि बढेको बताउनुभयो । उहाँको भनाइअनुसार, यसबारे सीमाक्षेत्रका पालिका र सुरक्षा निकायका प्रमुखहरूसँग नियमित सम्पर्क र समन्वय भइरहेको छ ।
गाई–बाख्रा चराउने बहानामा प्रवेश
भैरहवा समाचारदाताका अनुसार नेपाल–भारत सीमा सिल गरिए पनि अझै लुकीछिपी नेपाल आउनेक्रम रोकिएको छैन । रूपन्देही जिल्लास्थित नेपाल–भारतको खुला सीमानाकामा रोहिणी, डन्डा, कोठी, दानव नदी तरेर तथा गाई(बाख्रा चराउने बहानामा मानिस नेपाल प्रवेश गरेको पाइएको छ ।
गत बुधबारमात्रै भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका एक युवालाई गाउँलेले गैँडहवा एकान्तवास (क्वारेन्टाइन)मा पु¥याएको गैँडहवा गाउँपालिकाका स्वास्थ्य सीमानाकामा सुरक्षा सतर्कता बढाउँदाबढाउँदै पनि अपवादका रूपमा केही व्यक्ति नेपाल प्रवेश गरेको सशस्त्र प्रहरी नम्बर २७ गणका प्रहरी नायव उपरीक्षक निरंकार शुक्लाले बताउनुभयो ।
दूरी कायम राखेर शोकसभा
रूपन्देही समाचारदाताका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीअन्तर्गतका विभिन्न शाखा कमिटीले चार छुट्टाछुट्टै स्थानमा सामाजिक दूरी कायम राखेर शनिबार शोकसभा सम्पन्न गरेका छन् । आफ्ना तीनजना कार्यकर्ता मातृशोकमा परेपछि त्यसरी शोकसभा गरिएको नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले जानकारी दिनुभयो । बन्दाबन्दीकै बेला पार्टी केन्द्रीय विभागका सदस्य शशी पौडेलकी आमा लक्ष्मी पौडेल, पार्टी कार्यकर्ताहरू डा. शिव पौडेल र भोजराज कडेरियाकी आमाहरू तथा तिलोत्तमा–१ की जनप्रतिनिधि हीरादेवी विकका ससुराको
निधन भएको थियो ।
बन्दाबन्दीमा विकास सुरु
बाँके समाचारदाताका अनुसार बन्दाबन्दी लम्बिँदै गएपछि बाँकेमा विकास निर्माणका काम सुरु भएका छन् । जिल्लामा स्थानीय तहदेखि अन्य कार्यालयले विकास निर्माणका काम सुरुवात गरेका हुन् । नेपालगन्जको खजुरा रोडमा लामो समयदेखि जीर्ण सडकको निर्माणकार्य सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले बन्दाबन्दीका आधारभूत मापदण्ड पालना गर्दै विकास निर्माणका काम सुरु गरिएको जानकारी दिनुभयो ।
सबैको स्वाब सङ्कलन सुरु
नेपालगन्ज समाचारदाताका अनुसार नेपालगन्जमा शुक्रबार भेटिएका कोरोना भाइरसका सङ्क्रमित ६० वर्षीय व्यक्तिको परिवार र उनको सम्पर्कमा आएका सबैको नाम ठेगाना पत्ता लगाएर कोरोना परीक्षण गर्ने प्रक्रिया सुरु गरिएको छ । सोक्रममा सङ्क्रमितका परिवार, आफन्त नातागोता र सम्पर्कमा आएका सबैको स्वाब सङ्कलन शनिबार बिहानैदेखि सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यसैबीच शुक्रबार शङ्कास्पद रिपोर्ट आएका दोस्रो पुरुषको स्वाब पुनः सङ्कलन गरेर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
एकान्तवासमा बस्नेक्रम बढ्दो
तानसेन समाचारदाताका अनुसार छिमेकी मुलुक भारत र नेपालका विभिन्न स्थानबाट जिल्लामा फर्किएकालाई एकान्तवासमा राख्न थालेपछि एकान्तवासमा बस्नेको सङ्ख्या दिनहुँ बढेको छ । पाल्पाका १० स्थानीय तहले स्थापना गरेका एकान्तवासमा हालसम्म १९० जना पुगेका छन् । तानसेनमा चार, रामपुरमा ५६, निस्दीमा ५६, पूर्वखोलामा २४, रम्भामा १५, माथागढीमा छ, तिनाउमा चार, रैनादेवी छहरामा २५ जनालाई एकान्तवासमा राखिएको छ । रिब्दीकोट र बगनासकालीमा एकजना पनि एकान्तवासमा छैनन् ।
अनुगमन गर्न समिति
तम्घास समाचारदाताका अनुसार गुल्मीमा राहत वितरण र एकान्तवासको अवस्था अनुगमन गर्न प्रदेश सभासद्हरूको नेतृत्वमा अनुगमन समिति बनाइएको छ । जिल्ला समन्वय समितिको समन्वयमा गठित समितिमा क्षेत्र नं १ को ‘क’मा गीता थापा ‘ख’मा कमलराज श्रेष्ठ, क्षेत्र नं २ को ‘क’मा सांसद खड्ग केसी र ‘ख’मा सांसद दिनेश पन्थीको नेतृत्वमा कर्मचारी, जिल्ला समन्वय समितिका सदस्यहरूलगायतको सहभागिता रहेको छ । गुल्मीमा पहिलो चरणमा राहत वितरण भइसकेको छ भने दोस्रो चरणमा राहत वितरणका लागि योजना बनाइरहेको स्थानीय तहहरूले जनाएका छन् ।
हजारजना एकान्तवासमा
प्युठान समाचारदाताका अनुसार जिल्लाका विभिन्न स्थानीय तहले बनाएका एकान्तवासमा एक हजार ३९ जना व्यक्ति रहेका छन् । नौवटा स्थानीय तहमा बनाइएको एकान्तवासमा सम्भावित जोखिम कम गर्न जिल्लाबाहिरबाट आएका व्यक्तिलाई राखिएको हो ।
सबै स्थानीय तहमा गरी ८९ वटा एकान्तवास स्थल रहेका छन् । जसमा एक हजार २९५ बेड रहेका छन् । पछिल्लो समय स्थानीय तहले काठमाडौँबाट मानिस ल्याएपछि एकान्तवासमा बस्ने व्यक्तिको सङ्ख्या बढेको हो ।
नृत्यकर्मीद्वारा राहत
बुटवल समाचारदाताका अनुसार दैनिक ज्यालादारी गरेर खाने विपन्न वर्गलाई खाद्यान्न अभाव भएको भन्दै नृत्यकर्मी तथा सङ्गीत क्षेत्रका कलाकारले राहत वितरण गरेका छन् । नृत्यकर्मी सङ्घ नेपाल रूपन्देही तथा सङ्गीत कलाकार संरक्षण अभियानको पहलमा बुटवलको सुकुम्वासी टोल र तिलोत्तमाको वार्ड नं. ४ मा २० हजारबराबरको खाद्यान्नलगायतका राहत सामग्री वितरण गरिएको हो । नृत्यकर्मी सङ्घ रूपन्देहीका पूर्वअध्यक्ष अनु रजकले लकडाउनका कारण विपन्न वर्गलाई खाद्य सङ्कट भएको भन्दै राहत वितरण गरिएको बताउनुभयो ।