logo
२०८१ फाल्गुन ११ आईतवार

  कोरोना जित्ने भारतीयको खुशी  



सरकारलाई धन्यवाद, चिकित्सकलाई दिल्ली घुम्ने निम्तो

प्रदेश |


सरकारलाई धन्यवाद, चिकित्सकलाई दिल्ली घुम्ने निम्तो


नवराज कट्टेल
विराटनगर, बैशाख २४ गते । कोरोना भाईरस परास्त गरेपछि विराटनगर कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको शै्याबाटै चिकित्सकलाई दिल्ली घुम्ने निम्ता दिइएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राको मोवाइल नम्बरमा म्यासेज पठाउँदै संक्रमणलाई जितिसकेका भारतीय नागरिकले सबै चिकित्सक धन्यवादको पात्र रहेको भन्दै नयाँदिल्ली घुम्ने निम्ता दिइएका हुन् ।
यति धेरै खुशी छौं, त्यसको वर्णन गरिरहन सकेको छैन, मेडिकल सुपरिटटेन्डेन्ट डा.मिश्राले भन्नुभयो–यो टिमका वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा.दिपक सिग्देल र फिजिसियन डा.डेनप्रसाद आचार्यसहित अन्य साथीहरुको एकमुष्ट सफलता हो । उहाँले एकजना विरामीले उपचारपछि चिकित्सकलाई धन्यवाद भन्नु निक्कै ठूलो सफलताको संकेत हुने बताउँदै भन्नुभयो–त्यसमा पनि भारतीय नागरिकले हामीलाई घुम्न दिल्ली आउन निम्ता समेत गर्नुले अझै खुशी भएका छौं ।
अस्पतालबाट डिस्चार्जपछि हँसिलो मुद्रामा ३० वर्षीय अनुस जैदीले नेपाल सरकारको साथले आफूहरु आराम भएको बताउनुभयो । उहाँले नेपाल आएका बखत उदयपुरको मस्जिदमा कोरोना संक्रमण देखिएको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) देखि, प्रहरी र चिकित्सकको भरले आफूहरुलाई धेरै सहज भएकोे बताउनुभयो ।
चिकित्सकको बारम्बार साथ थियो त्यसले डरलाई पनि परास्त गरिदियो, भारतीय नागरिक जैदीले भन्नुभयो–डराउने वस्तु अगाडि देख्दा डर लाग्नु स्वभाविक छ तर त्यसलाई हटाउने असल साथी पायौं ।
सामान्य रुघाखोकी (बुखार) लागे जस्तो मात्रै महसुश गर्दा अस्पताल भर्ना भएको र सामान्य अवस्थामै डिस्चार्ज भएको उहाँले अनुभूति सुनाउनुभयो । नेपाल र भारत दुवै देश बन्दाबन्दी रहेका कारण अहिले नेपालमै बस्ने र पूर्ण रुपमा सबै साथीहरु आराम भएपछि साउथ दिल्लीमा रहेको घर फर्कने उहाँले बताउनुभयो ।
दिनरात अस्पतालमा खटिरहनु भएका स्वास्थ्यकर्मीको एकमुष्ठ सफलताले ६ जनाको स्वास्थ्यमा सुधार आएको हो, डा.मिश्राले भन्नुभयो–डा.सिग्देल र डा.डेनले बाहिरको अनुभव अध्ययन गर्दै रातदिन उपचारमा खटिनु भएको छ ।
कोरोना संक्रमित ३१ जनाको उपचारमा संलग्न पहिलो समुहका २४ र दोस्रो समुहका २४ गरि ४८ जना चिकित्सक तथा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा पठाईसकिएको छ । अस्पतालमा अहिले तेस्रो समुहका २४ जना चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यरत रहेको डा.मिश्राले जानकारी दिनुभयो । एक समुहमा रहेका ६ जनाले ६ घण्टा डिउटीमा खटिनु पर्नेछ, डा.मिश्राले भन्नुभयो–यसरी प्रत्येक दिन ६ घण्टा डिउटी खटिनेहरु सातदिनपछि पुनः क्वारेन्टाइनमा पठाईने छ ।
चिकित्सकहरुले प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेको दुरदर्शिपूर्ण निर्णयका कारण विरामीको चापलाई सहजै धान्न सक्ने हैसियत राखिएको भन्दै प्रशंसा समेत गरेका गरेका छन् । कोरोना संक्रमित उपचारका लागि विशेष र छुट्टै प्रकृतिको अस्पतालमा लगानी गरेर रातदिन नभनी सञ्चालनमा ल्याउन सक्नुले पनि स्वास्थ्यकर्मी तथा चिकित्सकलाई हौसला बढाएको डा.मिश्राले बताउनुभयो ।
डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मो.अजिज, २८ वर्षीय मो.जावेद, २१ वर्षीय मो. अहमद साहेव, ३४ वर्षीय मो. अजिरवान र २६ वर्षीय मो. राशिद रहनु भएको छ । अस्पतालबाट डिस्चार्जपछि उहाँहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे र राज्यमन्त्री जसमाया गजमेर, मन्त्रालयका सचिव रविलाल पन्त लगायतले बिदाई गर्नु भएको थियो ।

याे पनि पढ्नुहाेस्

छ जनाले परास्त गरे कोरोना, डिस्चार्जपछि क्वारेन्टाइन पठाइयाे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?