लक्ष्मण पौडेल
भैरहवा, वैशाख २७ गते । नेपाल–भारत सीमा नाकामा प्रवासी नेपालीहरु आउने क्रम तीव्ररुपमा बढेको छ । भारतमा लकडाउन खुकुलो भएसँगै भारतका विभिन्न सहरमा रोजगारी गरी बस्ने नेपालीहरु फर्किने क्रम बढेको हो ।
शनिबार बिहानसम्म१३ सय बढी प्रवासी नेपालीहरु सीमानाका सुनौलीमा आइपुगेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इशवरी अधिकारीका अनुसार नेपालीहरु आउने क्रम बढिरहेको छ । भारतले अव आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न नसक्ने जवाफ दिइरहेको पनि उहाँले बताउनुभयो । अहिलेसम्म दुवै देशको सहमति अनुसार नेपालतर्फ रहेका भारतीय नागरिक नेपालको क्वारेन्टाइनमा रहेका छन् भने भारततर्फ रहेका नेपाली सुनौलीको क्वारेन्टाइनमा छन् ।
सुनौलीमा रहेको क्वारेन्टाइनमा करिव सात सय नेपाली रहेका छन् भने अन्य सीमानाकामा छरिएर रहेको र रातको समयमा लुकिछिपी नेपाल छिर्ने गरेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । सीमा क्षेत्रमा नेपालीहरु आउने क्रम बढेसँगै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताउनुभयो ।
नेपालीहरुले सीमामा राखिएको हल्थ डेक्समा आएर आफ्नो नाम लेखाउने र फकिएर भारत तफै जाने गरेका छन् ।