राममणि दाहाल
राईगाउँ (मकवानपुर), वैशाख २८ गते । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गरिएको बन्दाबन्दीका कारण रोकिएका विकास योजनाहरूको निर्माण कार्यलाई निरन्तरता दिने निर्णयसँगै विकास आयोजनाहरूको निर्माणले गति लिएको छ ।
बन्दाबन्दी लम्ब्याउने निर्णयसँगै विकास निर्माणका काम खुला गर्ने सरकारको निर्णयपछि राष्ट्रिय गौरवका योजनाहरूको निर्माणले तिव्रता पाएको हो ।
बन्दाबन्दीका बीचमा राष्ट्रिय गौरवका योजनाहरुलाई निरन्तरता दिनेक्रममा हेटौँडा–धरान–चतरा सडकको सिन्धुली–हेटौँडा सडक खण्डमा पर्ने बाग्मती पुलको निर्माण कार्य धमाधम भइरहेको छ ।
विकास आयोजनामा काम गर्ने कामदार–कर्मचारीबीच भौतिक दूरी कायम, व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायहरू अबलम्बन र सतर्कता अपनाउँदै राष्ट्रिय महत्वका योजनाको योजना बाग्मती पुलको काम भइरहेको छ ।
मकवानपुरको बाग्मती गाउँपालिकाको वडा नम्बर ४ को बाग्मतीटार सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका ३ जोड्ने ४१३ मिटर लम्बाइको पुलको ११ वटा स्पानमध्ये तीनवटा स्पानको ढलानलगायत निर्माणको काम बन्दाबन्दीपूर्व भएको थियो ।
स्वच्छन्द निर्माण सेवा प्रालिलेले ठेक्कामा रहेको उक्त पुलको १२ वटा पिल्लरमध्ये ११ वटाको निर्माण पूरा भएको छ । निर्माण कम्पनीका साइट ईञ्चार्ज सन्तोष सापकोटाका अनुसार निर्माण सामग्री र मजदुरको अभावका बीच बन्दाबन्दीको समयमा काम सुरु गरेर शनिबार एउटा स्पानको ढलानको काम सकिएको छ । आइतबार पुलको बिमको ढलान भएको छ ।
सोमबार अर्को स्पानको ढलान गर्नेछौँ र बन्दाबन्दी रोकिए काम सुचारु हुने भन्दै उहाँले पुलका लागि भारतबाट आयात गर्नुपर्ने सामग्रीलगायतका निर्माण सामग्रीको अभावका कारण निर्माण रोकिने जानकारी दिनुभयो ।
हेटौँडा–धरान–चतरा सडकको मकवानपुर सडकखण्डमा पर्ने नौ वटा पुलको निर्माण पूरा भइसकेको छ । मकवानपुरमा पर्ने ४५ किलोमिटर सडक खण्डअन्तर्गतको पुल निर्माणको ९० प्रतिशत र सडकको ७५ प्रतिशत भौतिक प्रगति भइसकेको हेटौँडा–चतरा–धरान सडकको दुई खण्डमध्ये सिन्धुलीबाट पश्चिमतर्फको पश्चिमी क्षेत्र आयोजनाले जनाएको छ । पश्चिमी क्षेत्र आयोजनाका आयोजना प्रमुख अर्जुन अर्यालले बाग्मती पुलका १२ वटा स्पानमध्ये आठ वटा स्पानको चालु आर्थिक वर्षमा ढलान गर्ने योजना रहेकोमा बन्दाबन्दीका कारण लक्ष्यअनुसार काम गर्न नसकिएको बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष बाग्मतीमा आएको बाढी बनाएको संरचनामासमेत क्षति पु¥याएकोले यो वर्ष क्षति रोक्न बन्दाबन्दीकाबीच पनि ढलानलगायतका कार्य गरिएको हो ।
गत वर्ष बाग्मती पुलको बनाएको संरचना, ढलानका लागि तयार गरिएको फर्मा, उपकरणलगायतका निर्माण सामग्री बगाउँदा चार करोड रुपियाँ नोक्सानी भएको थियो । आयोजनाका इन्जिनियर वीरेन्द्रप्रसाद महत्तोले निर्माण कम्पनीले काम गर्ने तयारी गरे पनि बन्दाबन्दीका कारण समस्या भएको बताउँदै बाढीले गत वर्ष झै क्षति पु¥याउनसक्ने भएकोले जाखिमकाबीच काम गरेको बताउनुभयो । उहाँका अनुसार दैनिक १२ घण्टा करिव ७० जना कामदार कर्मचारी पुल निर्माणमा खटिएका छन् । पुलको काम ७० प्रतिशत सकिएको र समयमा निर्माण समाग्री उपलब्ध नभएका कारण समस्या भएको निर्माण कम्पनीले जनाएको छ । असार २०६८ सालमा पाँच वर्षभित्रमा सम्पन्न गर्ने गरी भूकम्प, नाकाबन्दीलगायतका कारण देखाउँदै म्याद थपिँदै आएको पुल निर्माणले एक वर्षदेखि गति लिएको थियो ।