logo
२०८१ मंसिर १२ बुधवार



लकडाउनमा रैथाने बालीको परिकार बनाइँदै

प्रदेश |


लकडाउनमा रैथाने बालीको परिकार बनाइँदै



बेलिना थापा
लमजुङ, बैशाख २९ गते ।  लमजुङको क्व्होलासोंथर गाउँपालिका ८ घ्रामाङका होमस्टे सञ्चालक लकडाउनको सदुपयोग गर्दै रैथाने कृषि बालीको अर्गानिक परिकार बनाउनतर्फ लागेका छन् ।
कोरोना भाइरस संक्रमणका कारण लकडाउन भएपछि यो समयको सदुपयोग गर्दै गाउँमै उत्पादन भएको कृषि बालीको नयाँ खालको परिकार बनाउन थालेका छन् । घ्रामाङ सामुदायिक होमस्टेका अध्यक्ष प्रेमकुमारी गुरुङका अनुसार लकडाउनको समयमा यतिकै बस्नुभन्दा अर्गानिक परिकार बनाउन सिकिएको हो । गाउँमै उत्पादन गरिएको अन्नबालीबाट होमस्टे सञ्चालकले विभिन्न परिकार बनाएका छन् ।

स्थानीय रैथाने बालीको परिकारहरू केरा र कोदोको मम, केराको चिप्स, तरुलको खिर, तरुलको फ्रेन्च फ्राइज, कोदोको पराठा, साँधेको पिडालु, पुदिनको जुस, टिमुरको छोप, आलु चप, रातो खुर्सानीको छोप, केराउको बटुक, आलु फ्राइलगायतको अर्गानिक खाजा बनाइएको उहाँले बताउनुभयो । घ्रामाङका होमस्टे सञ्चालकबीचको सल्लाह अनुसार २ दिनसम्म अर्गानिक खाजा बनाउन सिकेको वडाध्यक्ष राजु गुरुङले बताउनुभयो ।

उहाँका अनुसार १३ होमस्टे सञ्चालकलाई भेला गराएर अर्गानिक परिकार बनाउन सिकाइएको हो । यसअघि कृषि ज्ञान केन्द्र लमजुङमा रैथाने बालीको परिकार बनाउने तालिममा आउनुभएका होमस्टे सञ्चालक शान्ति गुरुङले प्रशिक्षण दिनुभएको हो । गाउँमै उत्पादित अन्नबाट फरक खालको परिकार बनाउँदा यसको स्वाद मिठो हुने र पर्यटकले पनि फरक खालको स्वाद लिन पाउने भएकाले होमस्टे सञ्चालकलाई प्रशिक्षण दिइएको उहाँले बताउनुभयो । ‘लकडाउन छ । पर्यटक आउने कुरै भएन । यो समयको सदुपयोग गरेर विभिन्न परिकार बनाउन सिकेका छन्’ उहाँले भन्नुभयो, ‘अर्गानिक परिकार फरक खालको छ । यसले पर्यटकलाई लोभ्याउछ । पर्यटन प्रवद्र्धन हुन्छ ।’

होमस्टे सञ्चालकले बनाएको परिकार गाउँका बुद्धिजीवि र सामाजिक कार्यकर्तालाई चखाइएको थियो । पहिलो पटक फरक खालको स्वादको परिकारको स्वाद लिन पाउँदा गाउँले खुसी भएको होमस्टेका उपाध्यक्ष खुशकुमारी गुरुङले बताउनुभयो । गतबर्षबाट पर्यटन प्रवद्र्धनका गतिविधि सञ्चालन गरेको गाउँमा यस्ता खाले परिकारले पर्यटक भित्र्याउन सघाउ पुग्ने उहाँले बताउनुभयो । गाउँलेले यो बर्षबाट रातो धान आँगा लगाउने पनि तयारी गरेका छन् ।

गुरुङ र दलित समुदायको बसोबास रहेको घ्रामाङ गाउँ करिब १ हजार ६०० मिटर उचाइमा रहेको छ । गाउँमा गतबर्षबाट होमस्टे सञ्चालन थालिएको हो । गण्डकी प्रदेश सरकारको १५ लाख र वडाको साँढे ४ लाख रुपियाँमा पर्यटकीय गतिविधि थालिएको छ । पदमार्ग निर्माण, भाडाँकुडा खरिद, बाथरुम, शौचालय निर्माण, कोठा तथा बेड निर्माणको काम गरिएको छ । १७ प्रस्ताविक भएपछि अहिले ११ घरमा मात्र होमस्टेका लागि पूर्वाधार तयार पारिएको अध्यक्ष प्रेमकुमारी गुरुङले बताउनुभयो ।

एउटा घरमा २ देखि ५ जनासम्म बस्न मिल्ने गरी व्यवस्था गरिएको छ । ११ घरमा गरी करिब ५० जनासम्म राख्ने सकिने उहाँले बताउनुभयो । होमस्टेका सचिव केशकुमार गुरुङका अनुसार होमस्टे चलाउने सबै महिला भएकाले समितिमा पनि सबै महिला छन् । १७ सदस्यीय होमस्टे समिति निर्माण गरेर स्थानीयले पर्यटन प्रवर्द्धनकाे काम अघि बढाएको छ । गाउँमा ६५ घरधुरी रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?