logo
२०८१ मंसिर १२ बुधवार



सर्लाहीका उखु किसानसँग सात बुँदे सहमति, चिनी बोकेका ट्रक छाडिने

प्रदेश |


सर्लाहीका उखु किसानसँग सात बुँदे सहमति, चिनी बोकेका ट्रक छाडिने


जनार्जन खत्री
सर्लाही, बैशाख ३० गते । सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित धनकौलमा केही दिनदेखि जारी विवाद तत्कालका लागि समाधान भएको छ । सदरमुकाम मलङ्गवामा सोमवार साँझ अबेरसम्म भएको छलफलमा सात बुँदे सहमति भएसँगै अन्नपूर्ण चिनी उद्योग धनकौलबाट चिनी लोड गरेर बजार पठाउन लाग्दा किसानले ट्रक नियन्त्रणमा लिएपछि सुरु भएको विवाद तत्कालका लागि समाधान भएको हो । किसानहरुले उद्योगमा तीन÷चार वर्षअघि बिक्री गरेको उखुको भुक्तानि नपाएसम्म चिनी बजार लान नदिने भन्दै छवटा ट्रक नियन्त्रणमा लिएका थिए ।

किसानले रोकेकामध्ये चारवटा ट्रकमा एक हजार ६८० बोरा चिनी लोड छ । अहिले स्थानीय प्रहरी कार्यालयमा रहेका ट्रक भित्रका चिनी मङ्गलवारबाट बजार लान दिने सहमति भएको छ । मिलले चिनी लगेपछि दुई दिनभित्र किसानको खातामा २५ लाख रुपियाँ जम्मा गर्ने र ट्रकमा रहेका चिनी बिक्री गरेपछि प्राप्त रकम १० दिनभित्र पुनः किसानको खातामा जम्मा गर्ने सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

रकम भुक्तानि गर्दा अहिलेसम्म सबै भन्दा पहिले उखु बिक्री गरेका किसानलाई भुक्तानि गर्दै जाने निर्णय भएको छ । छलफलमा भुक्तानि प्रणालीको कुनै पनि पक्षबाट उल्लङ्घन नगर्ने, उद्योग परिसर एवं उद्योगको काठमाण्डौंमा रहेको केन्द्रिय कार्यालयमा कुनै पनि किसिमको आन्दोलन नगर्ने र सबै पक्षबीच मेलमिलाप गरी शान्तिपूर्वक रहने सहमति भएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रदेश सभा सदस्य, धनकौल गाउँपालिकाका जनप्रतिनिधि, पूर्व सांसद, राजनीतिक अगुवा, सुरक्षा निकायका प्रमुख, उद्योगका प्रतिनिधि र उखु किसानका प्रतिनिधि सहभागी भएका थिए । चिनी बोकेका ट्रक नियन्त्रणमा लिएपछि उत्पन्न विवादपछि आइतवार झडप नै भएपछि स्थानीय प्रशासनको पहलमा सोमवार विभिन्न पक्षबीच छलफल गरेर तत्कालका लागि विवाद सुल्झाइएको हो ।

किसानबाट अघिल्ला वर्षहरुमा किनेको उखुको भुक्तानि गर्न नसक्दा अन्नपूर्ण चिनी मिल यस वर्ष सञ्चालनमै आउन सकेन । उद्योगले किसानलाई २१ करोड रुपियाँको हाराहारीमा भुक्तानि गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?