logo
२०८१ बैशाख १५ शनिवार

  प्रदेश ५ मा लुकिछिपी आएकामा सङ्क्रमण  



सुनौली आसपास दुई हजार रहेको अनुमान, मूल नाकाबाटै ल्याइँदै

प्रदेश |


सुनौली आसपास दुई हजार रहेको अनुमान, मूल नाकाबाटै ल्याइँदै


दीपक ज्ञवाली
बुटवल, बैशाख ३० गते । खुल्ला सिमानाबाट लुकिछिपी नेपाल भित्रिने प्रवृत्तिले संक्रमणको जोखिम बढेपछि सीमा क्षेत्रका कतिपय स्थानीय तहहरूले मूल नाकाबाटै अलपत्र नेपालीलाई नेपाल ल्याउन थालेका छन् । मूल नाकाबाटै नेपालीलाई ल्याउँदा चोर बाटाहरूबाट लुकिछिपी भित्रिने क्रम कम हुने स्थानीय तहहरूको विश्वास छ ।
सुनौली नाकामा मात्रै झणडै दुईहजारको हाराहारीमा नेपाली रहेको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीले बताउनुभयो ।
उनीहरूलाई राख्न थप क्वारेन्टाइन र पिसिआर परीक्षण केन्द्रको व्यवस्था गरेपछि स्थानीय तहहरूले नेपाली ल्याउन शुरु गरेका हुन् । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीका अनुसार अब प्रदेशमा क्वारेन्टाईनमा बस्नेको संख्या अझै बढ्नेछ । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ५७४ जना क्वारेन्टाईनमा छन् ।
यसैबीच सीमा क्षेत्रका स्थानीय तहहरूले सिमानामा थप कडाई गरेको जनाएका छन् । कतिपय तहले सीमा क्षेत्रमा सुरक्षाकर्मीसँगै स्वयम् सेवक पनि परिचालन गरेका छन् ।
अहिलेसम्म यो प्रदेशमा ७० जनामा कोरोना सङ्क्रमण देखिएको छ । मङ्गलबार एकै दिन यो प्रदेशमा १७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । उनीहरू सबै भारतको मुम्बइकाट लुकिछिपी आएको प्रारम्भिक सूचना प्राप्त भएको छ । रुपन्देहीमा पुष्टि भएका सबै लुम्बिनी साँस्कृतिक नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले बताउनुभयो ।
भारतको मुम्बइ र दिल्लीबाट आएका उनीहरू बैशाख २४ गते नगरपालिकाले बनाएको क्वारेन्टीनमा आएका थिए । उनीहरू लुम्बिनी बौद्ध विश्वविद्यालयमा रहेको क्वारेन्टाइनमा थिए । यसअघि उनीहरू घरमा गएको र स्थानीयले खबर गरेपछि क्वारेन्टाइनमा ल्याएको गिरीले बताउनुभयो । उनीहरू १७ देखि ४० वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरूलाई थप उपचारका लागि बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा लैजाने तयारी भएको छ ।
कपिलवस्तुमा नयाँ पुष्टि भएका ८ जना कपिलवस्तु नगरपालिका ५ का रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख चौधरीले बताउनुभयो । उनीहरू बैशाख २३ र २४ गते भारतको मुम्मई र दिल्लीबाट आएका थिए । मर्यादपुर नाकाबाट लुकिछिपी छिरेका उनीहरूलाई स्थानीयले क्वारेन्टाइनमा ल्याएका थिए । उनीहरूलाई समेत प्रारम्भीक परामर्शपछि बुटवल ल्याइनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?