logo
२०८१ मंसिर १२ बुधवार



सर्लाहीको हरिपूर्वामा ३० जनाको स्वाब सङ्कलन, सङ्क्रमित पुरुषको गाउँ सिल

प्रदेश |


सर्लाहीको हरिपूर्वामा ३० जनाको स्वाब सङ्कलन, सङ्क्रमित पुरुषको गाउँ सिल


जनार्जन खत्री
सर्लाही, वैशाख ३१ गते । सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका–३, धनकौलमा बुधवार ३० जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । जिल्लाका दोस्रो कोरोना सङ्क्रमितको परिवारका ५ जना, उहाँसँग सम्पर्कमा आएको आशङ्का गरिएका छरछिमेकीसहित २१ जना र नगरपालिकाले स्थानीय विद्युत् प्राधिकरणको नवनिर्मित भवनमा बनाएको क्वारेन्टाइनमा रहेका ४ जनासहित ३० जनाको पीसीआर परीक्षण गर्न खकारको नमूना लिइएको स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशीलकुमार झाले जानकारी दिनुभयो ।

स्वाब सङ्कलन गरिएकामध्ये क्वारेन्टाइनमा रहेका ४ जना केही दिनअघि मात्रै भारतबाट लुकिछिपी आएका व्यक्तिहरु हुन् । सङ्कलित स्वाब बुधवार साँझ अबेर प्रादेशिक प्रयोगशाला जनकपुर पठाइएको छ । हामीले सङ्कलित स्वाब यहाँबाट प्रादेशिक ल्याब जनकपुर पठाएका छौँ, अब त्यहीँ परीक्षण गरिन्छ की काठमाण्डौं पठाइँन्छ ? जनस्वास्थ्य निरीक्षक झाले भन्नुभयो ।

केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौँमा परीक्षण गर्दा हरिपूर्वा नगरपालिका–३, धनकौलका ४५ वर्षीय पुरुषमा मङ्गलबार राती अबेर कोरोना पुष्टी भएको थियो । सङ्क्रमित पुरुष मानसिक रोगका बिरामी हुनुहुन्छ । सङ्क्रमण पुष्टि हुनासाथ उहाँलाई मङ्गलबार राति नै जनकपुर पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो ।

स्थानीय बासिन्दाकाअनुसार मागेर खाँदै हिँड्ने कोरोना सङ्क्रमित पुरुष जनकपुरबाट भर्खरै गाउँ आउनुभएको थियो । प्रहरीले ती पुरुषको घर रहेको क्षेत्र बुधबार बिहानैदेखि सिल गरेर आवतजावत बन्द गरेको छ । हरिपूर्वा नगरपालिकाका प्रमुख सियाराम रायले सङ्क्रमित पुरुषको परिवारका पाँचै जना सदस्यलाई मङ्गलबार रातिदेखि नै क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।

हरिपूर्वामा लकडाउन अर्थात बन्दाबन्दीको व्यापक उल्लङ्घन भएको गुनासो यसअघि पटक–पटक आएको थियो । सङ्क्रमित पुरुष गाउँमा केही दिनदेखि खुलेअाम रुपमा हिँडेको पाइएको हरिपूर्वाका स्थानीय सञ्चारकर्मी मुकेश झाले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?