logo
२०८१ मंसिर १२ बुधवार



कर्णालीको बाँझो जमिनमा खेती गर्न शुरु, मुख्यमन्त्रीले जोत्दै मकै रोप्नुभयो

प्रदेश |


कर्णालीको बाँझो जमिनमा खेती गर्न शुरु, मुख्यमन्त्रीले जोत्दै मकै रोप्नुभयो


ललित बसेल
सुर्खेत, जेठ १ गते । कर्णाली प्रदेश सरकारले यहाँको बाँझो जमिनमा खेती गर्ने अभियान थालेको छ । जमिन बाँझो नराखौँ, सक्नेलाई खेती गर्न दिउँ भन्दै बाँझो जमिनमा खेती गरी उत्पादकत्व बढाई प्रदेशलाई खाद्य सुरक्षित बनाउन प्रदेश सरकारले बाँझो जमिनमा खेती गर्ने अभियान थालेको हो । बिहीवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको बाँझो जमिनमा मकै रोपेर खेती गर्ने अभियानको थालनी गर्नुभएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले खाद्य असुरक्षित रहेको कर्णाली प्रदेशका लागि बाँझो जमिन खेती गर्ने अभियानले खाद्य सुरक्षित बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले कर्णालीमा वार्षिक करिब ३५ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको जानकारी दिँदै यस्तै बाँझो जग्गामा खेती गरी उत्पादन बढाएर त्यो अपुग खाद्यान्न पूर्ति गर्ने सरकारको योजना रहेको उल्लेख गर्नुभयो । उहाँले बाँझो जमिन उपयोग गर्ने नीति कोरोनाले दिएको अवसर भएको बताउनुभयो ।

अहिले कर्णालीका ७९ वटै स्थानीय तहसँग बाँझो जग्गा कति छ भने तथ्याङ्क सङ्कलन गर्न लागिएको छ । सबै तथ्याङ्क उपलब्ध भएपछि जहाँ जुन खेती हुन्छ, त्यही खेती गर्नका लागि प्रोत्साहित गरिनेछ । मन्त्री केसीले यदि खेती गर्ने भएमा प्रदेश सरकारले मल, बीऊ, बेर्ना सहयोग गर्ने वचन दिनुभयो ।

मुख्यमन्त्री शाहीले कृषि उत्पादनमा आत्मनिर्भर बनाउनका लागि प्रदेश सरकारले बाँझो जग्गालाई उपयोग गर्ने नीति लिएको बताउनुभयो । उहाँले सके आफै गरौँ, नसके गर्न सक्नेलाई दिएर भएपनि बाँझो जमिन सदुपयोग गरी खाद्यान्न अभाव हटाउनुपर्ने उल्लेख गर्नुभयो । नयाँ आर्थिक बर्षको बजेटमा पनि कर्णाली प्रदेशले कृषि उत्पादन र रोजगारीलाई नै प्राथमिकता दिने उहाँको भनाइ छ ।

मुख्यमन्त्री शाहीले लकडाउनलाई खुकुलो बनाएर कृषि कर्म गर्न दिइने बताउनुभयो । उहाँले जहाँ कोरोनाको सङ्क्रमण देखिन्छ, त्यहाँ लकडाउन गरेर नदेखिएको ठाउँलाई खुकुलो बनाइ कृषि कर्मलाई सहज बनाउने उल्लेख गर्नुभयो । प्रदेशभरका बाँझो जमिनलाई उपयोग गरेर खाद्य सुरक्षित प्रदेश बनाउन सहयोग गर्न सबैलाई उहाँले अपील गर्नुभएको छ ।

कर्णालीको कूल २५ लाख २५ हजार २७५ हेक्टर क्षेत्रफलमा दुई लाख ९९ हजार ३३९ हेक्टर (११.८५ प्रतिशत) जमिन खेतीयोग्य छ । यसमा पनि दुई लाख १६ हजार ८८० हेक्टर अर्थात ७२.४५ प्रतिशतमा खेती गरिएको छ । तर युवाहरूको विदेश पलायन, सहरतिरको आकर्षणले जमिन बाँझै रहेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले धेरैजसो जमिन बाँझो रहँदा उत्पादनमा कमी भएकोले खाद्य असुरक्षा बढेको बताउनुभयो । उहाँले खेर गएको बाँझो जमिनमा खेती गरी उत्पादन गर्न सकिने उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?