logo
२०८१ फाल्गुन १२ सोमवार



झिमरुक गाउँपालिकाको नमूना कामः आफैँ सञ्चालन गर्याे कृषि फार्म

प्रदेश |


झिमरुक गाउँपालिकाको नमूना कामः आफैँ सञ्चालन गर्याे कृषि फार्म


सुजल श्रेष्ठ
प्यूठान, जेठ १ गते । झिमरुक गाउँपालिकाले आफैँ कृषि फार्म सञ्चालनमा ल्याएको छ । गाउँपालिका नजिकै पालिकाले आफैँ व्यावसायिक कृषि फार्म सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका कृषकलाई व्यवासायिक कृषि ज्ञान सिकाउने तथा कृषि क्षेत्रमा उत्पेरित गर्ने उदेश्यले फाम सञ्चालनमा ल्याइएको हो ।

कृषि तालिम स्रोत केन्द्रको रुपमा विकास गर्ने लक्ष्य सहित कृषि फार्मको योजना अघि बढेको गाउँपालिका अध्यक्ष तिलक जिसीले बताउनुभयो । कृषि तालिम, अवलोकन भ्रमण जस्ता क्षेत्रमा धेरै लगानी गरियो, गाउँपालिका अध्यक्ष जिसीले भन्नुभयो, सैद्धान्तीक ज्ञानले मात्रै नहुने देखेर व्यावहारीक ज्ञान समेत सिकाउने गरि फार्म सञ्चालन गरेका हौं ।

व्यवसायिक खेतीसँगै गाउँका अगुवा कृषकलाई खेती प्रणालीको विषयमा प्रयोगात्मक अभ्यास समेत गराउँदै आएको उहाँले बताउनुभयो । कृषि फार्मले एकातर्फ गाउँपालिकाको आम्दानी वढाउने र अर्को तर्फ कृषि तालिमका लागि समेत सहयोग गर्ने गरि फार्म सञ्चालन गरेको उहाँको भनाई छ ।

फार्ममा च्याउ, काक्रा, भान्टा, फर्सी, बाेडीलगायत विभिन्न बेमौसमी तरकारी उत्पादन भएका छन् । हिउँदे सिजनबाट फार्म सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनुभयो । फार्म सञ्चालनका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले पाँच लाख रुपियाँ विनियोजन गरेको हो । उहाँकाअनुसार अहिलेसम्म फार्म तयार गर्नका लागि झण्डै दुई लाख रुपियाँ खर्च भएको छ ।


गाउँपालिकाअन्तर्गत कृषि शाखामा रहेका कृषि प्राविधिकले फार्ममा रेखदेख गर्दैआएका छन् । अगुवा कृषकलाई प्रयोगात्मक अभ्याससहित फार्ममा विभिन्न खेतीहरू गर्दैआईएको छ । आवश्यकताअनुसार ज्यालादारी कामदार लगाई कृषि फार्म अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो । विभिन्न हाईटेक प्रविधिमार्फत खेतीलाई अगाडि बढाउने गाउँपालिकाको योजना छ । वर्षातका कारण फार्ममा आवश्यक कतिपय काम गर्न बाँकी छ, अधिकृत भुसालले भन्नुभयो, आवश्यक आधुनिक प्रविधिलाई क्रमशः बढाउँदै लाने योजनामा छौंँ ।


गाउँपालिकाले सञ्चालन गरेको फार्मबाट अहिलेसम्म ५३ हजार रुपियाँ बराबरको च्याउ तथा तरकारी बिक्री गरेर आम्दानी गरेको छ । करिब ४२ हजारको मात्रै च्याउ बिक्री गरेका थियौँ, उहाँले भन्नुभयो, भान्टा, काक्रालगायतका तरकारीले फल दिन शूरु गरेका छन् ।


गाउँपालिकाको प्रशासनिक भवन भ्यागुतेनजिकै करिब तीन रोपनी जग्गा लिजमा लिएर व्यावसायिक कृषि फार्म सञ्चालन गरेको हो । वार्षिक २५ हजार रूपियाँका दरले पाँच वर्षका लागि जग्गा भाडामा लिएको अधिकृत भुसालले जानकारी दिनुभयो । आगामी बजेटमा समेत कृषि फार्मका लागि बजेट विनियोन गरी थप जग्गाको व्यवस्थापन गर्दै फार्मलाई तालिम स्रोत केन्द्रको रुपमा विकास गर्ने योजना गाउँपालिकाको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?