logo
२०८० चैत्र १५ बिहीवार



सङ्क्रमितको मृत्युपछि उच्च सुरक्षा सतर्कता, कार्यविधिअनुसार अन्त्येष्टि गरिने

प्रदेश |


सङ्क्रमितको मृत्युपछि उच्च सुरक्षा सतर्कता,  कार्यविधिअनुसार अन्त्येष्टि गरिने


सिराज खान/गोविन्द शर्मा
बाँके, जेठ ४ गते । बाँकेको नरैनापुरस्थित दीपेन्द्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा निधन भएका २५ वर्षीय युवामा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि यहाँ सुरक्षामा उच्च सतर्कता अपनाइएको छ ।
ती २५ वर्षीय युवासहित नरैनापुरका विभिन्न क्वारेन्टाइनमा बसिरहेका २६३ जनाको स्वाब शनिबार नै सङ्कलन भएको थियो । राती ३ बजेतिर ज्वरो तथा बान्ता भएका युवाको बिहान निधन भएको हो । दीपेन्द्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकामध्ये ६ जनामा यसअघि नै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।
मृतक युवाको भेरी अस्पताल, नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण भएको पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो । डा. थापाले भन्नुभयो, 'अन्य स्वाबहरूको प्रयोगशालामा परीक्षण भईरहेको छ ।' 
नरैनापुरमा यसअघि ८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सरकारले जारी गरेको कार्यविधिअनुसार मृतकको परम्पराअनुसार अन्त्येष्टि गरिने जानकारी दिनुभयो ।
नरैनापुर ५ का मृतक युवा चार दिनअघि भारतबाट फर्की गाउँपालिकाले दीपेन्द्र आधारभुत विद्यालयमा स्थापना गरेको क्वारेन्टाइनमा बस्दै आउनुभएको थियो । मृतकका आफन्त र स्थानीय बासिन्दाले भने समयमै अस्पताल पु¥याउन नसकेका कारण युवाको मृत्यु भएको दावी गरेका छन् । स्थानीय बासिन्दाले भने पीपीईको अभावमा एम्बुलेन्स चालकले अस्पताल पु¥याउन नमानेको दावीसमेत गरेका छन् । नरैनापुरमा नेपाली सेनासहित सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?