logo
२०८१ मंसिर १२ बुधवार



भारतबाट आएका नेपालीलाई लक्षित गरी थप क्वारेन्टाइन निर्माण

प्रदेश |
पढ्नै पर्ने |


भारतबाट आएका नेपालीलाई लक्षित गरी थप क्वारेन्टाइन निर्माण


धीरेन्द्रप्रसाद साह
राजविराज, जेठ ५ गते । भारतमा विभिन्न पेसामा रहेका नेपाली फर्किन थालेपछि कोरोना सङ्क्रमणको उच्च जोखिमसँगै चुनौती थपिएको छ । भारत सरकारले लकडाउन बीच रेल सञ्चालनमा ल्याएपछि नेपालीहरू नेपाल फर्किन थालेका छन् । भारतको सङ्क्रमित स्थानहरूबाट समेत विद्यार्थी, मजदुर, व्यवसायीलगायतका मानिसहरू फर्किन थालेपछि सङ्क्रमणको उच्च जोखिम बढेको हो । पछिल्लो एकसाता यतादेखि रेलमार्गबाट आउने नेपालीलाई भारतीय सुरक्षाकर्मीले मूल बाटोबाट सीमा पार गराउने गरेको हुँदा उनीहरूको व्यवस्थापनमा चुनौती पनि थपिएको छ ।

भारतबाट बिहान, दिउँसो, बेलुका, राति जुनसुकै बेला नेपाल भित्रिने गरेकोले सीमानाकामा उनीहरूको विस्तृत व्यक्तिगत तथ्याङ्क (बायोग्राफी) राख्नको लागि सीमावर्ती सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले व्यवस्थापनमा सक्रिय भएको छ । भारतबाट आउने नेपालीको लागि नेपाली सीमामा तत्काल अस्थायी क्वारेन्टाइनसरह खाना नास्तासहितको सिमानाका बेलही (कुनौली भन्सार) मा अस्थायी विश्रामगृह निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो ।

पारिबाट आएका नेपालीलाई तत्काल विश्रामगृहमा आराम गर्न लगाई कम्तीमा नास्ताको प्रबन्ध गर्ने उहाँले भन्नुभयो, 'यसरी आउने नेपालीको नाम ठेगाना, सम्पर्क नम्बर, समूहमा आएको मानिसहरूको विवरणसहित यात्रा वृत्तान्त राख्ने व्यवस्था गरेको छौँ ।' स्वास्थ्यकर्मीको टोलीले ज्वरो परीक्षणपश्चात उनीहरूलाई सम्बन्धित नगर/गाउँपालिकासँग सम्पर्क गरी क्वारेन्टाइन पठाइने गरेको अध्यक्ष सिंहको कथन छ ।

भारतबाट आउने नेपालीलाई सीधै घर नपठाई क्वारेन्टाइनमा पठाउनु, स्वास्थ्य परीक्षण गर्न, र विस्तृत विवरण तयार पर्दासम्म सडककै घामपानीमा बस्दै आउँदा थप पीडा भइरहेकोले यस्तो व्यवस्थापन कार्यको सुरु गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस्...

रौतहटका ७ सङ्क्रमित भारतबाट आएका थिए, महिला घरमै थिईन्

सीमामा आउने नेपालीलाई कोरोना सङ्क्रमणको शङ्का लागेमा तत्कालै पीसीआर परीक्षणको लागि स्वाब सङ्कलन गर्ने र सामान्य अवस्थाका मानिसलाई क्वारेन्टाइनमा पूरा समय बिताएपछि मात्र परीक्षणको तयारी रहेको उहाँले बताउनुभयो ।

भारातमा रेल सञ्चालन भएयता मुख्यमार्ग भएर पाँच सय जना सप्तरी भित्रिएको र उनीहरूलाई सीमावर्ती तिलाठी कोइलाडी गाउँपालिका, बलानबिहुल गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका लगायतको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । दैनिक डेढ/दुई सयको सङ्ख्यामा भारतबाट नेपाली भित्रिने गरेको उहाँले कोरोना सङ्क्रमण लक्षण देखिएमा तत्कालै स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि पठाउने गरिएको बताउनुभयो । क्वारेन्टाइनमा १४ दिन कटेपछि सबै परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाइने उहाँले जानकारी दिनुभयो ।
'भारतबाट आएकामध्ये सङ्क्रमणको शङ्का लागेका २०/२५ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठायौँ' उहाँले भन्नुभयो, 'सबैको रिपोर्ट नेगेटिभ आएको छ । तर पनि, उनीहरूलाई अहिले क्वारेन्टाइनमा राखेका छौँ ।' तत्कालै सङ्क्रमित भएर भारतबाट आएपछि जाँच गर्दा रिपोर्टमा सङ्क्रमण देखाउन नसकिने बढी सम्भावना रहेको हुँदा केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने अनिवार्य भएको निमित्त प्रमुख यादवले बताउनुभयो ।  जिल्लाको विभिन्न सीमानाकाबाट सप्तरी, सिरहा, उदयपुर, सुनसरी जिल्लाका मानिसहरू भारतबाट आउने गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?