तिलाचन पाण्डे
तम्घास, जेठ ६ गते । गुल्मीका एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएसँगै मदाने गाउँपालिकालाई सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, गुल्मीले जनाएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ वर्षीय पुरुषमा भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पाइएकाले गाउँमा उहाँको प्रथामिक उपचारमा संलग्न स्वास्थ्यकर्मी, उहाँको परिवार र सम्पर्कमा आएका सबै व्यक्तिहरूको आरडिटी र पिसीआर परीक्षण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानाकारी दिनुभयो ।
योसँगै गुल्मी अस्पतालको ओपिडी सेवा जेठ ६ र ७ गते बन्द गर्ने निर्णयसमेत भएको जिल्ला प्रशासन कार्यलय, गुल्मीले जनाएको छ । तत्काल पिसिआर भिटिएम उपलब्ध गराउनका लागि ५ नं प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णयसमेत भएको छ ।
सङ्क्रमित व्यक्ति कतैबाट आएको नभई गाउँमै बसिरहेको र गाउँबाट जन्डिसको लक्षण तथा पहिले देखिनै निमोनिया देखा परेको भन्दै जेठ १ गतेदेखि बुटवलको क्रिमसन अस्पातलमा उपचारको क्रममा रहेको जनाइएको छ । उहाँको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
उहाँ मदाने गाउँपालिकादेखि अर्घाखाँचीसम्म मोटरसाइकलमा गएको र अर्घाखाँचीबाट एम्बुलेन्समा बुटवल गएको स्थानीयले बताएका छन् ।