अविनाश चौधरी
धनगढी, जेठ ६ गते । कोभिड–१९ सङ्क्रमणको आशङ्कामा सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका शङ्कास्पद पाँच जनासहित १७३ व्यक्तिको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।
शङ्कास्पद व्यक्तिसहित विभिन्न ठाउँबाट सङ्कलन गरिएकाहरूको स्वाबको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना लागेको आशङ्कामा कैलारी गाउँपालिका–१ हसुलियाकी २७ वर्षीया महिला, गौरीगङ्गा नगरपालिकाका २९ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय पुरुष र २९ वर्षीया उहाँकी श्रीमती आइसोलेसन कक्षमा भर्ना हुनुभएको थियो । यसैगरी, धनगढी उपमहानगरपालिका–१३ का ३० वर्षीय पुरुष पनि अस्पतालको आइसोलेसन कक्षमा भर्ना हुनुभएको थियो ।
अस्पतालको ल्याबमा पिसिआर विधिबाट जाँच गर्दा शङ्कास्पद् व्यक्तिसहित १७३ जना सबैको स्वाब रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालले मङ्गलबार कैलालीका ३९, कञ्चनपुरका १७, डोटी, बाजुराका ४/४, बैतडी, दार्चुलाका २/२, बझाङ, दाङ र बर्दियाका १/१ जनाको स्वाब रिपोर्ट सार्वजनिक गरेको छ । यसअघि, सोमबार कैलालीका ३३, कञ्चनपुरका २४, कालीकोटका २२, बझाङका १४, बैतडीका ४, डडेल्धुरा, अछाम, दार्चुला, बाँके, कास्की र पाल्पाका १/१ जनाको रिपोर्ट सार्वजनिक गरिएको थियो ।