विष्णुप्रसाद पोखरेल
दमक, जेठ ८ गते । नेपाल र भारतको सिमानाबाट नेपाली धमाधम झापा भित्रन थालेपछि यहाँ कोरोनाको जोखिम बढेको छ । तीन साताअघि दुई जनामा कोरोना पोजेटिभ देखिएको झापामा तीन दिनयता २५ जना थपिएर २७ जना सङ्क्रमित सङ्ख्या पुगिसकेकाे छ । सबै जना भारतबाट आएर कचनकवलले नै बनाएको दुई वटा अलगअलग क्वारेन्टाइनमा बसेका छन् ।
ती सबै कचनकवल गाँउपालिकाका रहेका छन् । कचनकवल गाउँपालिका सिल भइसकेको छ ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरसहित जिल्लाका सुरक्षा निकायका प्रमुख गएर त्यहाँ रहेका क्वारेन्टाइनको स्थलगत अवलोकन समेत गर्नुभएको छ ।
कचनकवलमा रहनुभएका प्रदेशसभा सदस्य वसन्त बानियाँका अनुसार सीमामा कडाइ गर्ने र त्यहाँ रहेकाहरूलाई सुरक्षित रुपमा ल्याएर क्वारेन्टाइनमा राख्ने विषयलाई प्राथमिकता दिइएको छ ।
'हामी अति जोखिममा परेको महसुस भएको छ र आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन लागेका छौँ', उहाँले भन्नुभयो । क्वारेन्टाइनमा बसेका नै सङ्क्रमित रहेको भेटिएकाले बाहिर फैलने सम्भावना भने कम रहेको जनाइएको छ ।
झापा जिल्ला कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले थप रणनीति बनाउनका लागि आवश्यक छलफल र परामर्श शुरु गरिएको बताउनुभयाे ।
बिर्तामोड नगरपालिका
बिर्तामोड नगरपालिका बिहीबार बेलुकाबाट सिल हुँदैछ । नगर प्रमुख ध्रुवकुमार शिवाकोटीका अनुसार बन्दाबन्दीको पालना नभएको र बजारमा भिडभाड नरोकिएकाले पूर्ण रुपमा सिल गर्नुपर्ने अवस्था आएको हो । 'भारतीय फलफुल तथा तरकारी आउने क्रम पनि नरोकिएको र भारतबाट लुकिछिपी मानिसहरू आइरहेको सूचना पाएपछि हामीले सिल गर्ने निर्णय लिएका हौँ', उहाँले भन्नुभयो ।
भारतीय रेलबाट सीमामा आएकाहरू लुकछिपी बिर्तामोडसम्म आइपुगेको सूचना प्राप्त भएको र भारतीय सागसब्जीका कारण जोखिम बढेको पाइएकाले पनि यो निर्णय लिनुपर्ने अवस्था आएकाे शिवाकोटीको भनाइ छ । एकातिर लकडाउनको पालना नगर्ने र अर्कोतर्फ बाहिरबाट आएका मानिसहरू चिन्न नसक्दा यसले अवस्था जटिल बन्ने देखेपछि समयमा नै सचेत भएर ठोस निर्णय लिन सबैतर्फबाट नगरपालिकालाई सुझाव आएको उहाँले स्पष्ट पार्नुभयो ।
बिर्तामोड जिल्लाकै प्रमुख व्यापारिक केन्द्र हो । झापाको बिच भाग पर्ने बिर्तामाेडमा सबैतिरबाट मानिसहरू ठोकिने भएकाले सम्भावित जोखिम कम गर्न बिर्तामोड नगरपालिकाको बोर्ड बैठकले नै नगर सिल गर्ने निर्णय बुधबार गरेको थियो ।
भद्रपुर नगरपालिका
भारतसँग सीमा जोडिएको भद्रपुरमा पनि उच्च सतर्कता अपनाउन शुरु गरिएको छ । सीमा जोडिएकोे कचनकवल गाँउपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै यहाँ पनि कडाइ शुरु गरिएको छ । नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि बुधबार बसेको बैठकले नगरपालिकाको कार्यालय आधा दिनमात्र खुला गर्ने र वार्ड कार्यालयहरू दिन बिराएर खोल्ने निर्णय भएको छ ।
कचनकवल गाँउपालिकासँग जोडिएको ठाँउहरू सिल गर्ने र आवतजावतमा रोक लगाउने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भारतबाट आएका नेपालीहरूलाई मेची क्याम्पसको क्वारेन्टाइनमा राखिएको र आरडीटी परीक्षणमा ७ जनामा पोजेटिभ देखिएकाले स्वाब परीक्षणका लागि पठाइएको छ ।
मेचीनगर नगरपालिका
भारतसँग सीमा जोडिएको मेचीनगर नगरपालिकाले यसभन्दा अघि नै नगरपालिकामा आवतजावतमा कडाइ गरेको थियो । नयाँ व्यक्ति कोही अनुमतिबेगर प्रवेश गरेमा सीधै क्वारेन्टाइमा लगेर राख्ने निर्णय भएको नगरप्रमुख बिमल आचार्यले बताउनुभएको छ । नगरपालिकाको पहलमा पूर्वी नाका काकडभिट्टामा रहेको भन्सार बन्द गराइएको भएपनि व्यवसायीको तीव्र दबावपछि एकसाता अघिदेखि भन्सार भने खुला रहेको जनाइएको छ ।
मेचीनगरमा ६ वटा क्वारेन्टाइन बनाइसकिएको र करिब छ सय जनालाई राख्न सकिने उहाँले बताउनुभयो । सङ्क्रमण फैलन नदिन आवश्यक निर्णय पुनः बैठक बसेर निर्णय लिइने पनि पोखरेलले जनाउनुभयो । यही नाका भएर सांसदहरूसहितको उपस्थितिमा पाँच सयभन्दा बढीलाई ल्याउनका लागि मेचीनगर नगरपालिकाले नै व्यवस्थापन गरेको पनि उहाँको भनाइ रहेको छ । उनीहरूलाई राति नै विभिन्न पालिकाहरूमा रहेका क्वारेन्टाइनमा पुर्याइएकाे छ । 'तत्कालै अहिलेसम्मको अवस्थामा सिल गर्ने निर्णय भने गरिएको छैन र थप छलफलपछि निर्णय लिइन्छ',उहाँले भन्नुभयो ।
दमक नगरपालिका
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार लकडाउनलाई व्यवस्थित गर्ने तर अहिले नै नगर सिल गर्ने तयारी छैन । 'क्वारेन्टाइन बनाइएको क्षेत्रमा सिल हुने भएपनि अन्यत्र तत्काल सिल गर्ने हाम्रो निर्णय र तयारी छैन', उहाँले भन्नुभयो । त्यस्तो आवश्यक भएमा निर्णय लिने पनि उहाँले बताउनुभयो ।
दमकमा बुधबार राति ५९ महिला र ५५ पुरुषलाई भारत नेपाल सीमाबाट ल्याएर राखिएको छ । उनीहरूको स्वास्थ्य परीक्षणको विषयमा अहिलेसम्म खास केही पनि तयारी नभएको बताइएको छ ।
गौरादह नगरपालिका
भारतसँग सीमा जोडिएको गौरादह नगरपालिकाले सीमामा अड्किएका यस नगरका बासिन्दालाई ल्याउने र क्वारेन्टाइनमा राख्ने काम शुरु गरेको छ । बुधबार राती ११ जनालाई ल्याएर क्वारेन्टाइनमा राखिएको नगर प्रमुख रोहितकुमार शाहले बताउनुभयो । तत्काल सिल गर्ने तयारी नरहेको भएपनि लकडाउनलाई कडा गरिने उहाँले जनाउनुभयो । रातको समयमा मानिसहरू आउने क्रम नरोकिएको र यसले जोखिम बढाएको महसुस भएको उहाँको भनाइ छ । 'सङ्क्रमण नभेटिएकाले तत्काल सिल गर्ने तयारी रहेको छैन लकडाउनलाई भने कडाई गरिँदै लैजानेछ', उहाँले भन्नुभयो ।