logo
२०८१ मंसिर १२ बुधवार



लकडाउनबिच भरतपुर महानगरमा २५ किलोमिटर नयाँ कालोपत्रे

प्रदेश |


लकडाउनबिच भरतपुर महानगरमा २५ किलोमिटर नयाँ कालोपत्रे


शालिग्राम नेपाल

चितवन, जेठ ८ गते । लकडाउनबिच भरतपुर महानगरपालिकाभित्र २५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । भरतपुर महानगरपालिकाका सिनियर डिभिज्नल इन्जिनियर रत्न लामिछानेका अनुसार चालू आर्थिक वर्षमा निर्माण हुनुपर्ने एकसय किलोमिटरमध्ये लकडाउन भएपछि मात्रै २५ किलोमिटर नयाँ कालोपत्रे भएको हो । विभिन्न समस्याका बिच २५ किलोमिटर सडक निर्माण पूरा भएका छन् ।

निर्माण पूरा भएर अस्फाल्ट बिछ्याउन मात्र बाँकी रहेको सडक धेरै रहेको कार्यालयले जनाएको छ । यसबिचमा आठ किलोमिटर सडक कालोपत्रे भएर सवारी साधन सञ्चालन भइसकेका छन् । अन्य स्थानमा धमाधम कालोपत्रे भइरहेको उहाँले जानकारी दिनुभयो ।

‘अबको एक हप्तामा थप १२ किलोमिटर बाटो कालोपत्रे हुँदैछ, आर्थिक वर्षको तेस्रो चौमासिकबाट विकास निर्माणले गति लिने भए पनि यही समयमा बन्दाबन्दी भएपछि निर्माणको कार्यलाई बाधा परेको छ’ इन्जिनियर लामिछानेले भन्नुभयो ।

चालू आर्थिक वर्षको असार मसान्तसम्म एकसय किलोमिटर नयाँ कालोपत्रे गर्ने लक्ष्य महानगरपालिकाको छ । ‘लक्ष्य अनुसार पूरा हुने अवस्था छैन ’ उहाँले भन्नुभयो ‘हामी लक्ष्यको ६० प्रतिशत काम गर्न सक्नेछौँ ।’ बन्दाबन्दी नभएको अवस्थामा पनि लक्ष्यको पाँच प्रतिशत काम हुने थिएन । अहिले रोगको महामारीले गर्दा ३५ प्रतिशत वृद्धि हुने अनुमान गरेका छौँ', उहाँले भन्नुभयो । लामिछानेका अनुसार महानगरको वडा नंं  ९,१०, ११  लगायतका विभिन्न स्थानमा महानगरपालिकाको बजेटमार्फत सडक निर्माण भएका छन् ।
महानगरपालिका प्रमुख रेनु दाहालले भन्नुभयो,  ‘लकडाउन नभएको भए हामीले लिएको लक्ष्य पूरा गर्ने थियौँ । लकडाउनका बिच पनि विकास निर्माणको कामलाई नरोकी अगाडि बढाएकाले सडक कालोपत्रे गर्न सफल भएका छौँ । आर्थिक वर्षको अन्त्यसम्ममा विकासको काम अझ धेरै हुने विश्वास लिएको छु ।’ 

बन्दाबन्दीको कारण काममा आउने जनशक्तिको अभाव, निर्माण सामग्री सहज तरिकाले ल्याउन नसक्नु तथा मुल्य वृद्धि जस्लेता कारण केही जटिलता आएको उहाले बताउनुभयो । जटिलताबिच पनि कामलाई नरोकी अगाडि बढाएको प्रमुख दाहालले जानकारी दिनुभयो ।

महानगरपलिकाका सिनियर डिभिज्नल इन्जिनियर लामिछानेका अनुसार दुई किलोमिटर ढल यही लकडाउनमा निर्माण भएका छन् ।  विशेष कारण भर्खरै पनि नयाँ सम्झौता भएर काम भइरहेकाे उहाँले जानकारी दिनुभयाे । महानगरपलिकाभरिको नयाँ निर्माणको विवरण आउने क्रममा रहेकाले कालोपत्रेको लम्बाइ वृद्धि हुने उहाँले बताउनुभयो ।

विकास निर्माणको कामलाई लकडाउनले बाधा नगरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताउनुभयाे । बन्दाबन्दीमा स्थानीय पालिकाले गर्ने विकासका काम, व्यक्तिले निर्माण गर्दै आएको घर पूरा नभएको अवस्थामा पनि निर्माणका सामग्री लैजान राेक नलगाइएकाे उहाँको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?