शिवकुमार काशी
हेटौँडा, जेठ ८ गते । बन्दाबन्दीमा पनि बागमती प्रदेश सरकारको पर्यटन विकासतर्फका भौतिक पूर्वाधारका योजनाले निरन्तरता पाएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजनाले ३८ वटा ठूला योजनाको ठेक्कामार्फत र ९० वटा साना योजनाहरूको कार्यान्वयन उपभोक्ता समितिमार्फत भइरहेको जनाएको छ । तीमध्ये कतिपय योजनाहरू निर्माण सामग्री र अन्य पूर्वाधार नमिल्दा सुरु भएका छैनन् । आयोजना प्रमुख शिवप्रसाद सापकोटाका अनुसार आयोजनाअन्तर्गत भौतिक पूर्वाधारका लागि ५० लाख रुपियाँसम्मका योजनाहरूको कार्यान्वयनका लागि उपभोक्ता समिति र ५० लाख रुपियाँ बढीका योजनाहरूको कार्यान्वयन ठेकेदार कम्पनीमार्फत गरिएको छ ।
‘अधिकांश योजनाहरू चलिरहेकै छन्’, प्रमुख सापकोटाले भन्नुभयो, ‘बन्दाबन्दीले लक्ष्य हासिल गर्न नदिएपनि योजनाको कार्यान्वयनमा निरन्तरता छ ।’ आयोजनाका अनुसार चालू आर्थिक वर्ष २०७६/७७ का लागि पर्यटन विकासका लागि भौतिक पूर्वाधार निर्माणसमेतका लागि कुल एक अर्ब ६५ करोड रुपियाँ विनियोजन गरिएको थियो । बजेट सभाबाट विनियोजित बजेटमध्ये एक अर्ब रुपियाँ कार्यान्वयन हुने लक्ष्यका साथ अघि बढेको आयोजनाले कोरोना भाइरसका कारण लक्ष्य हासिल गर्न सक्ने अवस्था भने छैन । सबै योजनाहरू सम्झौता भएर कार्यान्वयन प्रक्रियामा रहेकाले कामको मूल्याङ्कन गरी चालू आर्थिक वर्षभित्रै भुक्तानी गर्ने र सोही योजनाको बाँकी रहेको काम आगामी बजेटमा क्रमागत योजनाको रुपमा समावेश गरी काम सम्पन्न गरिने तयारी रहेको आयोजना प्रमुख सापकोटाले बताउनुभयो ।
आयोजनाका अनुसार ठूला योजनाका रुपमा रहेको रसुवाको उत्तरगया पर्यटनअन्तर्गत स्नानघाटसहितको संरचनाहरू निर्माणाधीन छन् । त्यसैगरी मकवानपुरको चित्लाङमा बहुउद्देश्यीय भवन, बगैँचा र भ्यू टावर निर्माणाधीन छन् । सिन्धुपाल्चोकको मुडेलगायत स्थानमा पनि चित्लाङकै मोडलमा पर्यटन विकासका लागि भौतिक निर्माणका काम भइरहेको छ ।
साना योजनाहरूका रुपमा भने बगैँचाहरू, पार्क, पैदल मार्गहरू निर्माणलगायत रहेको आयोजनाले जनाएको छ । ‘अफ्ठ्याराका बावजुद बन्दाबन्दीअघि नै सम्झौता भएका योजनाहरूको कार्यान्वयन गरी प्रगति विवरण सङ्कलन गरिँदैछ’, आयोजना प्रमुख सापकोटाले भन्नुभयो । सम्पन्न हुन नसकेका योजनाहरूले आगामी आर्थिक वर्षका लागि पेश हुने बजेटमा उल्लेख गरेर सम्पन्न गरिने उहाँले बताउनुभयो ।