logo
२०८१ फाल्गुन १३ मंगलवार



सङ्क्रमितलाई राख्न मलङ्गवामा ५० बेडको आइसोलेसन वार्ड तयार

प्रदेश |


सङ्क्रमितलाई राख्न मलङ्गवामा ५० बेडको आइसोलेसन वार्ड तयार


जनार्जन खत्री
सर्लाही, जेठ १० गते । सर्लाहीका कोरोना सङ्क्रमितलाई अब जिल्लामै राखेर उपचार गरिने भएको छ । त्यसका लागि सदरमुकाम मलङ्गवा नगरपालिका–२, मा रहेको सन्त अल्पाईन राम नारायण यादव नर्सिङ्ग कलेजमा ५० बेड क्षमताको आइसोलेसन वार्ड तयार पारिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमितको उपचार हुने जनकपुर र वीरगञ्जका अस्पतालमा बेडको अभाव भएपछि जिल्लामै आइसोलेसन वार्ड तयार पारिएको हो ।
आइसोलेसन वार्ड तयार भएपछि शनिवार बिहान जिल्लाको गोडैता नगरपालिकामा थपिएका १२ जना सङ्क्रमितलाई यहीँ राखेर उपचार गरिने भएको छ । सङ्क्रमितहरुलाई अहिले गोडैताबाट सदरमुकाम ल्याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो । उहाँले जिल्लामा बनाइएको आइसोलेसन वार्डमा भेन्टिलेटर र आइसियू नरहेकाले गम्भीर प्रकृतिका सङ्क्रमित देखिएको खण्डमा भने सुविधा सम्पन्न अस्पतालमै लगिने बताउनु भएको छ ।
नेपाली सेनाको नवलपुरस्थित रणशेर गण पाँचकुमारीबाट खटिएका सेना र स्वास्थ्यकर्मीहरुले आइसोलेसन वार्ड तयार पारेका हुन् । बन्दाबन्दी सुरु भएपछि गत चैतमै विद्यार्थीलाई घर पठाएको नर्सिङ्ग कलेजले आइसोलेसन वार्ड सञ्चालन गर्न भवन प्रदान गरेको हो । नर्सिङ्ग कलेजका संयोजक आशा कुशवाहाले स्थानीय प्रशासनको आग्रहमा भवन उपलब्ध गराइएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?