शिवशङ्कर मिश्र ।
बारा, जेठ १२ गते । किट अभावको कारण सम्भावित कोरोना सङ्क्रमितको परीक्षणमा ढिलाइ भएको छ । पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको तर, स्वाब सङ्कलन गर्ने भाँडा (भीटीएम) र पीसीआर किटको अभाव हुँदा परीक्षणमा ढिलाइ भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।
जिल्लामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको भए पनि उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षणमा ढिलाइ भएको हो । सङ्क्रमित भेटिएको क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको समेत परीक्षण गराउन नसकेको उहाँले जानकारी दिनुभयो ।
बारामा तत्कालका लागि एक हजार थान किटको आवश्यकता रहेको छ । जिल्लाको विभिन्न १६ वटा स्थानीय तहमा बनाइएको ३३ वटा क्वारेन्टाइनमा अहिले पनि ६०४ जना व्यक्तिहरू बसिरहेका छन् ।
क्वारेन्टाइनमा बस्ने अधिकांश भारतबाट फर्केर नेपाल आएकाहरू रहेका प्रजिअ पण्डितले बताउनुभयो । क्वारेन्टाइनमा दुई हप्ताभन्दा बढी समय बसिसकेकालाई परीक्षण नगरी घर पठाउँदा थप जोखिम बढ्नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।