सुजल श्रेष्ठ
प्यूठान, जेठ १३ गते । ऐरावती गाउँपालिका–६ स्थित क्वारेन्टाइनमा बसेकी एक बिरामी महिलाको मृत्यु भएको छ । ब्रेन ट्युमर भएकी २७ वर्षीया पार्वता थापाको मङ्गलबार बिहान क्वारेन्टाइनमा मृत्यु भएको वडा अध्यक्ष चन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
उहाँकाे ब्रेन ट्युमरको दुई पटक शल्यक्रिया गरिएको पारिवारीक स्रोतलाई उद्धृत गर्दै वडा अध्यक्ष रानाले बताउनुभयो । तीन वर्षअघि पहिलो पटक र अढाई महिनाअघि दोस्रो पटक शल्यक्रिया गरिएको थियो । बिरामी अवस्थामा उहाँसहितको परिवार छ दिनअघि जिल्ला आएका हुन् ।
उहाँहरू ऐरावती गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दैआउनुभएकाे थियाे । बिरामी पार्वतासहित श्रीमान राजु थापा, आमा विष्णुकुमारी बस्नेत, भाइ सुनिल बस्नेत, १० वर्षका छोरा रोहित थापा, तीन वर्षको छोरा शिव थापा क्वारेन्टाइनमा हुनुहुन्थ्याे ।
उहाँहरू भारतको पञ्जावको लुधियानामा बस्दैआउनुभएकाे थियाे । मृतकको माईत बिजुली र घर मल्लरानी–४ मा रहेकाे छ । उहाँहरू परिवारसहित भारतमा बस्दैआउनुभएकाे थियाे ।
आजै मृतकसँगै बस्दैआएका व्यक्तिको आरडीटी जाँच गरिएको र रिपाेर्ट नेगेटिभ देखिएको पालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिनुभयो । घरमा हेरचाह गर्ने कोही नभएकाले श्रीमानसहित सबैलाई ऐरावतीमा ल्याएर राखिएको अध्यक्ष शाहले जानकारी दिनुभयो । श्रीमान राजु थापाले घरमा स्याहार गर्ने मान्छे नभएको भन्दै ऐरावतीको क्वारेन्टाइनमा राख्न आग्रह गरेपछि राखिएको थियो ।