तारा चापागाईं दुवे
पोखरा, जेठ १३ गते । गण्डकी प्रदेश सभाले वातावरण संरक्षण गर्न बनेको विधेयक पारित गरेको छ । सभाको मङ्गलबार बसेको बैठकले विधेयकमाथि दफावार छलफल गरी पारित गरेको हो ।
विधेयक पारित हुनुपूर्व भएको दफावार छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले प्रदेशको विकास निर्माणसँगै आवश्यक पूर्वाधार निमार्णका लागि विधेयकले सहयोग गर्ने बताउनुभयो । वातावरण संरक्षणलाई थप व्यवस्थित गर्दै वृक्षारोपणमा ध्यान दिँदै जैविक विविधतालाई ख्याल गरी अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।
प्रदेश सभाका सदस्य सरिता गुरुङले विधेयकको धेरै कुरा मानिससँग प्रत्यक्ष सम्बन्धित रहेकाले हतारमा नभई आवश्यक अध्ययन र छुटेका विषयहरू समेटेर पारित गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सभाका सदस्य पियारी थापाले क्षतिपूर्तिको व्यवस्था विधेयकमा नरहेको भन्दै क्षतिपूर्तिको व्यवस्थासहित विधेयक पास गर्नुपर्ने सुझाव दिँदै हतारमा विधेयक पारित गर्न नहुने सुझाव दिनुभयो ।
प्रदेश सभाका सदस्य मनकुमारी गुरुङले स्वस्थ जीवन मानिसको अमूल्य सम्पत्ती रहेकाले विधेयकमा राम्रा पक्ष वातावरण प्रभावमा मुल्याङ्कनको कुरा उठाइएको भएपनि धेरै विषय छुटेको बताउँदै वातावरण विकासको समेत अङ्ग रहेकाले धेरै कुरामा ख्याल गर्नुपर्ने भनाइ राख्नुभयो । फोहोर व्यवस्थापन र यसको न्यूनीकरणको विषय विधेयकमा छुटेको समेत उहाँले बताउनुभयो ।
प्रदेश सभाका सदस्य इन्द्रलाल सापकोटाले दीगो विकास लक्ष्यलाई आधार मानी विधेयक बनेको बताउनुभयो ।