logo
२०८१ फाल्गुन १३ मंगलवार



सुदूरपश्चिम प्रदेश सभाको छैठाैँ अधिवेशन सुरु, कोरोना नियन्त्रणमै जोड

प्रदेश |


सुदूरपश्चिम प्रदेश सभाको छैठाैँ अधिवेशन सुरु, कोरोना नियन्त्रणमै जोड


प्रकाशविक्रम शाह/अविनाश चौधरी 
धनगढी, जेठ १२ गते । सुदूरपश्चिम प्रदेश सभाको छैठाैँ अर्थात बर्खे अधिवेशन मङ्गलबारबाट सुरु भएको छ । अधिवेशनको सफलताको शुभकामना दिँदै प्रदेश सभामा रहेका तीनै दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूले कोरोना नियन्त्रण र रोकथाममा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । सो अवसरमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पूर्व बजेटको दस्तावेज पेश गर्नुभएको थियो ।

अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बोहराले आगामी आर्थिक वर्ष २०७७/०७८ को पूर्व बजेटको दस्तावेज प्रस्तुत गर्नुभयो । उहाँले विश्वमै ठूलो महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रण गर्ने सन्दर्भमा प्रदेश सरकारले उच्च प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताउनुभयो ।

कोभिड–१९ ले विश्वभरिकै मुलुकहरू आक्रान्त भई अर्थतन्त्र र मानव सभ्यता नै धरापमा परेको मन्त्री बोहराले उल्लेख गर्नुभयो । उहाँले कोरोना भाइरसले गर्दा आयात, निर्यात, रोजगारी, खाद्य सुरक्षा लगायतमा गम्भीर समस्या उत्पन्न भएको बेला अर्थतन्त्रलाई पुनरोत्थान गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट केन्द्रित रहने बताउनुभयो ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकले कोभिड–१९ नियन्त्रण/रोकथामको नीति अबलम्बन गर्ने आर्थिम मामिला तथा योजनामन्त्री बोहराले उल्लेख गर्नुभयो । यसैगरी, कृषिमा आत्मनिर्भरताको नीति अबलम्बन गरिने बताउनुभयो । कोभिड–१९ का कारण रोगजारी गुमाएका व्यक्तिहरूलाई उनीहरूको सीप अनुसारको रोजगारी प्रदान गर्ने नीतिलाई अङ्गीकार गरिने उहाँले उल्लेख गर्नुभयो ।

कोरोना भाइरसले उत्पन्न चुनौतिलाई सामूहिक रुपमा सामना गर्न आवश्यक रहेको भन्दै मन्त्री बोहराले सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट, कार्यक्रम यसैमा केन्द्रित भएर आउने बताउनुभयो ।

छैटौं अधिवेशनको पहिलो बैठकमा शुभकामना दिनुहुँदै दलका नेताहरूले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाममा लागि प्रदेश सरकारले यथेष्ट कदम चाल्नु पर्ने औंल्याउनु भएको छ ।

प्रदेश सभा बैठकमा बोल्नु हुँदै सत्तापक्ष नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देश लकडाउन गर्नु सरकारको बाध्यता रहेको र यसमा सबैले साथ दिएको बताउनुभयो । प्रमुख सचेत तामाङले सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण फैलिन नदिनका लागि प्रदेश सरकार आफ्नै तरिकाले लागिरहेको उल्लेख गर्नुभयो ।
‘तर, क्वारेन्टाइनको व्यवस्थापन जसरी हुनु पर्दथ्यो, त्यसरी भएको छैन’, उहाँले भन्नुभयो । ‘व्यवस्थापन पक्षमा अलिकति कमजोर भएका कारण प्रदेश सरकारमाथि नजरअन्दाज पनि भइरहेको छ । कमिकमजोरीलाई सुधार गर्नु पर्दछ ।’

भारतबाट उद्धार गरिएकाहरूलाई सङ्क्रमण न्यूनीकरण गर्ने गरी गन्तव्यतर्फ पठाउनु पर्ने र क्वारेन्टाइनमा राखिएकाहरूका लागि जनचेतनाको कार्यक्रम पनि सञ्चालन गर्न आवश्यक रहेको तामाङले औंल्याउनुभयो ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले भारतले कब्जा गरेको सुदूरपश्चिमको भू–भागलाई समेटेर नयाँ नक्सा जारी गरेकोमा सङ्घीय सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सुदूरपश्चिमको ३० लाखमध्ये करिब आधा जनसङ्ख्या विभिन्न देशमा श्रम गर्ने गरेको र त्यसमध्ये ९० प्रतिशत भारतमा काम गर्दै आएको उल्लेख गर्दै रावलले कोरोनाका कारण धेरैको रोजगारी गुमेको बताउनुभयो । ‘यद्यपि, भारतबाट फर्केर आएकाहरूलाई स्वदेशमै सदुपयोग गर्ने ठूलो अवसर पनि आएको छ’, उहाँले अगाडि थप्नुभयो । ‘प्रदेश सरकारले यसतर्फ ध्यान दिएर बजेटमा प्राथमिकता दिनु पर्दछ ।’

नेता रावलले सुदूरपश्चिमका जनताले प्रदेश सरकार रहेको अनूभूति गर्न नसकिरहेको बेला कोरोना भाइरसका कारण चुनौती झनै थपिएको बताउनुभयो । उहाँले सरकार, सत्तापक्ष, प्रतिपक्ष सबै सच्चिएर अगाडि बढ्न आवश्यक रहेको औँल्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?