logo
२०८१ फाल्गुन १४ बुधवार

  कोशी अस्पतालमा उपचार गराएका ६१ जनामा लक्षण देखिएन  



सङ्क्रमित बढ्दै गएपछि बिरामीको वर्गीकरण गरिँदै

प्रदेश |


सङ्क्रमित बढ्दै गएपछि बिरामीको वर्गीकरण गरिँदै


नवराज कट्टेल
विराटनगर, जेठ १५ गते । कोशी अस्पताल, विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टिपछि उपचारत ३० जना नागरिक निको भएर घर फर्किसकेका छन् । अस्पतालमा गत वैशाख ५ गतेयता भर्ना गरिएका ६१ जनामध्ये डिस्चार्ज हुनेको सङ्ख्या ३० जना पुगेको हो ।

सङ्क्रमणपछि अस्पताल भर्ना र अस्पतालले डिस्चार्ज गर्दासम्मको अवधिमा कोरोनाभाइरस (कोभिड–१९) को कुनैपनि लक्षण देखा नपरेका सङ्क्रमित अस्पतालको बसाइपछि घर फर्केका हुन् । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सङ्गीता मिश्राका अनुसार अहिलेसम्म डिस्चार्ज ३० जना र बाँकी उपचारत ३१ गरी ६१ जनानै  बिनालक्षणका सङ्क्रमित छन् । 'अस्पतालमा रहँदाको लामो अवधिसम्म पनि कुनै लक्षण देखिएको छैन', मेसु मिश्राले भन्नुभयो, 'तर ल्याब परीक्षणमा भने सङ्क्रमण दोहोरिने गरेको छ ।'


प्रदेश १ का विभिन्न जिल्लाबाट विराटनगर कोशकाे उपचार केन्द्रबाहेक धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा हालसम्म ४२ जना सङ्क्रमित भर्ना गरिएको छ । प्रदेश १ मा बुधबारसम्म सङ्क्रमण देखिएका १०३ मध्ये ३० जना डिस्चार्ज भइसकेका हुन् ।

तर, कोरोना सङ्क्रमणको दर र स्वरुपमा देखिँदैगएको परिवर्तनलाइृ हेर्दै प्रदेश १ सरकारले सङ्क्रमितको वर्गीकरण गर्ने योजना अगाडि सारेको छ । सङ्क्रमणपछि लक्षण नदेखिएका सङ्क्रमितलाई सोझै अस्पतालमा ल्याएर भर्ना गर्ने अहिलेसम्मको अभ्यासमा परिवर्तन गर्दै आइसोलेसन केन्द्र र उपचार केन्द्रमा विभाजन गरीने भएको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार कोरोना सङ्क्रमण देखिएका तर लक्षण नदेखिएका त्यस्ता बिरामीलाई आइसोलेसन केन्द्रमा राखेर चिकित्सकीय निगरानी गरिने छ । सङ्क्रमितमध्ये लक्षण देखिएका र सम्भावित जोखिम मानिएकाहरूका हकमा अस्पतालमा भर्ना गरिने छ ।

'सङ्क्रमितको इतिहास (हिस्ट्री) समेत अध्ययन गरेर स्वास्थ्य अवस्था यकिन गरेपछि मात्रै अस्पतालमा भर्ना गर्ने योजना बनाएका छाैँ', सामाजिक विकास मन्त्री घिमिरेले भन्नुभयो, 'सङ्क्रमित मात्रै राख्नका लागि छुट्टै आइएसोलेन केन्द्र तयार पारिरहेका छौँ ।'

जटिल स्वास्थ्य समस्या भई उपचार गराइसकेकामा सङ्क्रमण देखिए, वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलालाई अस्पतालमा भर्ना गरिने र सङ्क्रमित भए पनि सामान्य अवस्था देखिएकाहरूलाई आइसाेलेसन केन्द्रमा भर्ना गरिने भएको हो । मन्त्री घिमिरेले एउटै स्वरुपको उपचार विधि अपनाउने हो भने आगामी दिनमा जटिल केसका बिरामी ओझेलमा पर्ने र सामान्य केसका बिरामीले अस्पताल ओगट्ने देखिएको बताउनुभयो ।

आइसाेलेसन केन्द्रमा समेत स्वास्थ्यकर्मी तथा चिकित्सकीय निगरानी सेवासहित सुविधा हुनेछ । कोशी अस्पताल र बीपीको कोभिड–१९ उपचार केन्द्रमा जटिल र अन्य तीनस्थानमा सामान्यस्तरका सङ्क्रमित राखेर उपचार विधि अपनाइने भएको छ ।

प्रदेश सरकारले सङ्क्रमितको वर्गीकरण गरेर राख्ने योजनासहित ४५० शय्याकाे आइसोलेसन उपचार केन्द्र निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । सङ्क्रमितको सङ्ख्या वृद्धिसँगै मानव स्वास्थ्यमा देखिन थालेको जटिलतालाई ख्यालमा राख्दै सुविधा सम्पन्न अस्पताललाई विशेष तयारीमा राखेर सुविधासम्पन्न आइसाेलेसन केन्द्रबाट प्रारम्भिक चरणको भर्ना प्रक्रिया थालिने भएको हो ।
मन्त्री घिमिरेका अनुसार विराटनगरको कोशी र धरानको बीपीमा उपचार र झापा भद्रपुरको मेची, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ र सुनसरीको बराहक्षेत्रमा आइसोलेसन केन्द्र बनाइने भएको हो । झापाको दमक र नेपाली सेनाको पुर्वी पृतना इटहरीमा आइसोलेसनस्तरको क्वारेन्टाइनसमेत तयारी अवस्थामा राखिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल र सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरूबीच मङ्गलबार साँझ भएको अनलाइन संवादमा समेत मन्त्री घिमिरेले प्रदेश सरकारको योजनाबारे जानकारी गराएको बताउनुभयो । यसका लागि सरकारले आवश्यक मार्गदर्शन र निर्देशिका समेत तयार गरिसकेको छ । त्यस बाहेक बीपीका डा. संजीव शर्माको संयोजकत्वमा गठित कार्यदलले तत्काल परीक्षण, सङ्क्रमितको वर्गीकरण र अस्पतालको मापदण्डको विषयमा अध्ययन गरिरहेको छ । 'त्यो कार्यदलले तीनदिन भित्रमा प्रतिवेदन बुझाउने अपेक्षा राखेका छाैँ", मन्त्री घिमिरेले भन्नुभयो, 'त्यसपछि हामीले उपचारको प्रक्रियागत प्रणालीमा सुधार गर्नेछाैँ ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?