चाँदनी आचार्य
लम्की जेठ १६ गते । पछिल्लो समय भारतबाट स्वदेश फर्किएका नेपालीले कैलालीका विभिन्न स्थानीय तहले बनाएका क्वारेन्टाइन भरिभराउ छन् ।
भारतका विभिन्न शहरबाट अनेकाैँ समस्या झेल्दै घरनजिक आइपुगेका उनीहरूको क्वारेन्टाइन बसाइ कष्टपूर्ण बनेको छ । जिल्लाका लम्कीचुहा, गौरीगंगा, भजनी, घोडाघोडीलगायत स्थानीय तहका विद्यालयमा बनाइएका क्वारेन्टाइनमा खानेपानी, शौचालय, खाना बस्नको व्यवस्थापनमा समस्या देखिएको छ ।
केही स्थानीय तहले व्यवस्थित गर्न खोजे पनि सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि व्यवस्थापनमा चुनौती थपिएको हो ।
लम्कीचुहा नगरपालिकाले एक सय क्षमता भएको लम्की बहुमुखी क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा करिब डेढ सय जना बसाउन बाध्य भएको जनाएको छ । क्षमताभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राख्दा शौचालय, पानी, खाना, बस्नको व्यववस्थापन गर्न समस्या हुने गरेको लम्कीचुहा - १ का लाल गिरीले बताउनुभयो ।
लम्कीको क्याम्पसमा मात्र नभई वडा नम्बर १० चुहामा रहेको नवजागृती माध्यमिक विद्यालयमा सञ्चालन गरिएको क्वारेन्टाइनमा समेत क्षमताभन्दा बढी राखिएको छ ।
११५ जना रहेको उक्त क्वारेन्टाइनमा पकाएर खुवाउने व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरूलाई दिन काट्न सहज होस् भनेर ईन्टरनेटको व्यवस्थासमेत गरिएको छ भने साँझ बिहान योग समेत गराइन्छ । लम्की चुहा - ८ का नरेन्द्र सिंहले क्वारेन्टाइन बस्न थालेको पाँच दिन भएको बताउँदै खानेपानी र शौचालयको समस्या भएको बताउनुभयो ।
लम्कीचुहा नगरपालिकाका २५ हजार नागरिक भारतमा रोजगारीका क्रममा रहेको पाइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले पालिकाले सञ्चालन गरेको १२ वटा क्वारेन्टाइन अपुग भएपछि चार वटा थप गरिएको बताउनुभयो ।
अहिले उक्त पालिकामा १४ वटा क्वारेन्टाइन सञ्चालनमा छन् । विभिन्न वडाका सरकारी विद्यालयलाई क्वारेन्टाइनमा प्रयोग गरिएको बताउँदै उहाँले क्षमताभन्दा बढी मानिस क्वारेन्टाइनमा राख्नुपर्ने बाध्यताले व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो ।
त्यसै गरी, घोडाघोडी नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्नेहरू आफूहरू क्वारेन्टाइनमा असुरक्षित भएको बताएका छन् । प्रत्येक वडामा सम्बन्धित वडाका नागरिकलाई व्यवस्थापन गर्ने गरी वडाअध्यक्षलाई जिम्मेवारी दिई क्वारेन्टाइन व्यवस्था गरे पनि क्वारेन्टाइनमा हुनुपर्ने न्युनतम् मापदण्ड पनि पूरा नभएको भन्दै क्वारेन्टाइन बस्नेहरूले गुनासो गरेका छन् ।
घोडाघोडी नगरपालिका - ३, निम्दीमा सरस्वती आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका सोही वडाका शङ्कर विश्वकर्माले नाम मात्रको क्वारेन्टाइन भएको बताउँदै क्वारेन्टाइनमा बस्ने सबैले एउटै शौचालय, एउटै धारो प्रयोग गर्नुपर्ने बाध्यताले आफूहरू क्वारेन्टाइनमा असुरक्षित रहेको बताउनुभयो । क्वारेन्टाइन बस्नुपूर्व आफूहरू कोरोना सङ्क्रमणबाट सुरक्षित बस्ने प्रयास गरेको बताउँदै अव्यवस्थित क्वारेन्टाइनको बसाइले असुरक्षित महसुस गरेको क्वारेन्टाइनमा बस्नेहरूको गुनासो छ । नगरपालिकाको पूर्वतयारी बिना भारतबाट दिन प्रतिदिन सयौँ नागरिक थपिँदै गएपछि व्यवस्थापनमा समस्या भएको छ ।
घोडाघोडीका नगरप्रमुख ममताप्रसाद चौधरीले एकैचोटी धेरै मानिस भारतबाट आउँदा व्यवस्थापनमा समस्या परेको बताउँदै व्यवस्थापनलाई राम्रो बनाउने प्रयासमा जुटेको बताउनुभयो ।