logo
२०८१ मंसिर १२ बुधवार



बजेटमा महामारी नियन्त्रणलाई प्राथमिकता दिनुहाेस् : सुदूरपश्चिम सांसद

प्रदेश |


बजेटमा महामारी नियन्त्रणलाई प्राथमिकता दिनुहाेस् : सुदूरपश्चिम सांसद


धनगढी समाचारदाता
धनगढी, जेठ १६ गते । कोभिड–१९ का कारण विश्व नै आक्रान्त भएको बेला सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले प्रदेश सरकारले महामारी नियन्त्रणलाई प्राथमिकता दिइनुपर्ने बताउनु भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को पूर्वबजेट तयारी दस्तावेजमाथि शुक्रबार सदनमा छलफल गर्नुहुँदै उहाँहरूले आगामी बजेटमा महामारी नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । सत्तापक्षबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य महेशदत्त जोशीले बजेटमा स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

यसैगरी, कोरोना महामारी नियन्त्रणका लागि रातदिन खटिरहनुभएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको स्वास्थ्य परीक्षण गरिनुपर्ने बताउनुभयो । भारतबाट फर्केकाहरूलाई रोजगारी दिने कार्यक्रम दस्तावेजमा नदेखिएको उल्लेख गर्दै जोशीले पुरानै ढर्राको बजेटको नीति तथा कार्यक्रम, उद्देश्य आएको उल्लेख गर्नुभयो ।

प्रदेशका सात मन्त्रीका मुख साततिर फर्केको भन्दै उहाँले प्रदेश सरकार पूर्णरुपमा असफल भइसकेको र समीक्षा गर्न आवश्यक रहेको औँल्याउनुभयो । प्रतिपक्षबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य डिल्लीराज पन्तले कोरोनाभाइरसको महामारी बढिरहेको बेला प्रदेश सरकार क्वारेन्टाइन व्यवस्थापनमै चुकेको बताउनुभयो ।

‘क्वारेन्टाइन भन्या छ, तर व्यवस्थित छँदैछैन’, उहाँले भन्नुभयो, ‘त्यसमा भेँडाबाख्राजस्तै मान्छे हुलेपछि कसरी क्वारेन्टाइनमा बस्न सक्ने ?’ पन्तले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारभन्दा स्थानीय तहले बढी काम गरेको बताउनुभयो । ‘एउटै धनगढी उपमहानगरपालिकाले प्रदेश सरकारकोभन्दा बढी काम गरेको छ’, उहाँले भन्नुभयो । चालू आर्थिक वर्षको बाँकी बजेट कोरोना भाइरस नियन्त्रणमा खर्च गर्न प्रदेश सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

यसैगरी, प्रतिपक्षबाटै प्रतिनिधित्व गर्नुहुने सदस्य कर्णबहादुर मल्लले प्रदेश सरकार अभिभावक भएकाले प्रदेशका जनतालाई शोक, भोकबाट बचाउने कार्यमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रदेश सभा सदस्यहरूलाई प्रदान गरिने रुपियाँ कोरोना महामारी नियन्त्रणमा खर्च गर्न सुझाउनुभयो ।
सत्तापक्षबाट प्रतिनिधित्व गर्नुहुने चुनकुमारी चौधरीले भारतबाट फर्केका व्यक्तिहरूलाई प्रदेश सरकारले रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले कदम नचालेका कारण भारतबाट फर्किने नेपाली श्रमिकहरूले ठूलो दुःखकष्ट भोग्नुपरेकाे बताउनुभयो ।

यस्तै, अर्का प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले रोगसँगै भोकमरीको समस्या पनि भयावह हुने भएकाले खाद्य सुरक्षाका लागि पूर्वतयारी गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
दस्तावेजमाथि मानबहादुर सुनार, गेल्मुसिंह बोहरा, टेकबहादुर रैका, शान्ति नेपाली, माया तामाङ बोहरा, अम्बिकुमारी थापा, बलबहादुर सोडारीले सदनमा बोल्नुभएको थियो ।
यसअघि, सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि दफावार छलफल भई तयार भएको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?