कमल शर्मा
दैलेख,जेठ १७ गते । दैलेखका थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । पिसिआर परीक्षणका लागि सुर्खेत र दैलेखका जिल्लाका नमुना सङ्कलन गरेर स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।
दैलेखको नारायण नगरपालिका वडा नम्बर ४ का २८,२५,३५ वर्षीय पुरुष,वडा नम्बर ६ का ४१ वर्षीय पुरुष,वडा नम्बर ३का ३० वर्षीय पुरुष,वडा नम्बर १० का १७ र २० वर्षीय पुरुष, वडा नम्बर २ का २१ वर्षीय पुरुष, वडा नं. ८ को २०, २० वर्षीय पुरुष, वडा नम्बर ११ का २७, १८ वर्षीय पुरुष, वडा नम्बर ९ का ५० र २३ वर्षीय पुरुष गरी १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनाको कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षणका लागि भेरी अञ्चल अस्पताल, नेपालगञ्जस्थित प्रयोग शालामा नमुना पठाइएको बताइएको छ । यस अघि कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण भएका ४६ जना मध्ये सुर्खेतका २८, दैलेखका १६ हुम्लाको एक र बझाङका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले भने यसबारे आधिकारीक जानकारी गाराएको छैन ।
शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा सबै भन्दा बढी सङ्क्रमित जिल्ला दैलेख भएको छ ।
दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ मा निर्माण गरेको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । उनी ९ दिनअघि भारतको बम्मै सहरबाट उद्धार गरी नेपाल ल्याइएको थियो । उनीको कोरोना परीक्षणका लागि बिहीबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा पठाइएको र आज नै उनको रिर्पोट आउने बताइएको छ ।