सुदूरपश्चिम व्युरो
धनगढी, जेठ १७ गते । सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले भारतबाट फर्केका प्रदेशवासीहरुको उपयुक्त व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गर्नु भएको छ ।
शनिबार बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को पूर्व बजेट तयारी सम्बन्धी दस्तावेजमाथिको छलफलमा भाग लिनु हुँदै उहाँहरुले प्रवासबाट फर्केकाहरुको समयमै उचित व्यवस्थापन गर्न नसके स्थिति भयावह हुन सक्ने बताउनुभयो ।
धनगढी समाचारदाता अविनाश चौधरीका अनुसार ‘लाखको सङ्ख्यामा प्रदेशवासी भारतबाट फर्किएका छन् । उनीहरुलाई खाना, बस्न धेरै समस्या छ’, सत्तापक्षबाट प्रतिनिधित्व गर्नु हुने सदस्य मना साउँदले भन्नुभयो । ‘सरकारले व्यवस्थापनमा विशेष ध्यान दिएन भने समस्या झनै बल्झिने छ ।’ प्रत्येक व्यक्तिको जीवन रक्षाको जिम्मेवारी सरकारको रहेकाले अहिले उत्पन्न गम्भीर परिस्थितिलाई मध्यनजर गरेर सरकार अगाडि बढ्नु पर्ने उहाँले बताउनुभयो ।
भारतबाट दैनिक हजारको सङ्ख्यामा आइरहेका प्रदेशवासीहरुको स्वास्थ्य चेकजाँचसमेत हुन नसकेको प्रदेश सभा सदस्यहरुको भनाइ छ । उनीहरुलाई बिना चेकजाँच विभिन्न ठाउँमा पु¥याइएकाले गाउँ–गाउँसम्म जोखिम पुगिसकेको उहाँहरुले बताउनुभयो ।
जोखिम अझै बढ्दै जाने स्थिति रहेका कारण आगामी बजेटलाई कोरोना लक्षित बनाउनु पर्ने प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले बताउनुभयो । ‘स्वास्थ्य राम्रो रहेमामात्रै हामी अरु काम गर्न सकौंला’, उहाँले भन्नुभयो । ‘त्यसैले जनताको सम्पत्ति जनताकै जीवन जोगाउनमा लगाउनु पर्दछ ।’
कोरोनापछि भोकमरी समस्या बढ्ने भएकाले त्यसतर्फ सतर्क रहनु पर्ने भन्दै कुँवरले प्रदेशको नौ वटै जिल्लामा कोराना परीक्षण ल्याबको स्थापना गर्न आग्रह गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गेसबाट प्रतिनिधित्व गर्नु हुने दिव्यश्वरी शाहले आगामी आर्थिक वर्षको बजेटलाई रोजगारी र उद्यमतर्फ केन्द्रित गर्नु पर्ने बताउनुयो । उहाँले चालू आर्थिक वर्षको बाँकी रहेको बजेटले स्वास्थ्य सामग्री खरिद गर्न आग्रह गर्दै प्रदेशका सबै बासिन्दाको कोरोना परीक्षण गर्न माग गर्नुभयो । ‘परीक्षण नगरे भोलि भयावह अवस्था उत्पन्न हुन सक्छ’, शाहले भन्नुभयो ।
सत्तापक्षबाट प्रतिनिधित्व गर्नु हुने अर्का प्रदेश सभा सदस्य प्रकाशबहादुर रावलले भारतबाट फर्केका प्रदेशवासीहरुलाई रोजगारीसंग कसरी जोड्ने भन्ने विषयमा सरकार गम्भीर हुनु पर्ने बताउनुभयो । छलफलमा कुन्ती जोशी लगायतले भाग लिनु भएको थियो ।
यस्तै, ढ्यापढ्यापे समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य भरतबहादुर खड्काले कोरोनाको जोखिम न्यूनीकरणको लागि पहल गर्न सभामुखलाई आग्रह गर्नुभयो ।
‘हामीले यस विषयमा प्रदेश सरकारलाई पटक–पटक आग्रह ग¥यौं तर, वास्ता गरेन । मुख्यमन्त्रीको भूमिका पनि राम्रो देखिएन’, खड्काले भन्नुभयो । ‘सुदूरपश्चिम अत्यन्त ठूलो जोखिममा रहेकाले जोखिम न्यूनीकरणको पहल अब सभामुखको नेतृत्वमा हुनु पर्दछ ।’
बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि पनि छलफल भएको छ । छलफलमा भाग लिनुहुँदै प्रदेश सभा सदस्यहरुले स्थानीय तहका पदाधिकारीको काम गर्ने जाँगरलाई कम हुन नदिनका लागि विधेयकलाई यथाशीघ्र पारित गर्र्न आवश्यक रहेको बताउनुभयो ।
विधेयकमाथि छलफलमा दीर्घबहादुर सोडारी, गोविन्दराज बोहरा र कृष्ण चौधरीले भाग लिनु भएको थियो । सो विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।