शिवराज ढुङ्गाना
अछाम, जेठ १९ गते । सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाले भारतलगायत जिल्लाबाहिरबाट आएका ३२१ जनालाई क्वारेन्टाइनमा राखेको छ । नगरमा रहेका १४ वटै वडामा जेठ ५ गतेदेखि हालसम्म भित्रिएका व्यक्तिहरूलाई वडा तहमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएका छन् । नगरमा रहेका २४ क्वारेन्टाइन स्थलमा नगरकै खर्चमा खाने बस्नेसँगै स्वास्थ्य परीक्षणको व्यवस्था गरेर क्वारेन्टाइनमा राखिएको छ ।
नगरमा जेठ ५ देखी १३ गतेसम्म जम्मा १०१ जना घर आएकोमा १४ मा ५८ जना, १५ मा ४८ जना, १६ मा ४० जना, १७ मा ३५ जना र १८ गते ३९ जना भारतलगायत जिल्लाबाहिरबाट आएपछि क्वारेन्टाइनमा राखिएको नगरपालिकाका सूचना अधिकारी खकेन्द्रबहादुर सोडारीले बताउनुभयो । क्वारेन्टाइनको आवश्यक व्यवस्थापन र समन्वयका लागि वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी र दुई/दुई जना स्वयमसेवकसमेत परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।
भारतलगायत जिल्लाबाहिरबाट मानिस भित्रिन थालेपछि स्थानीय तहलाई व्यवस्थापनमा सकस हुन थालेको छ । अछाम भित्रिएका हरेक मानिसले कम्तीमा १४ दिनक्वारेन्टाइनको बसाइपछि स्वास्थ्य परीक्षणपश्चात घर पठाइने बाध्यात्मक व्यवस्था रहेको छ ।