शिवराज ढुङ्गाना
अछाम, जेठ १९ गते । सुरक्षित रुपमा घरमै बसिरहेका व्यक्तिले काठमाडौँबाट आएको बस छोएपछि मङ्गलसेन नगरपालिका–६, ठूलासेनका छ जनालाई १४ दिनको लागि होम क्वारेन्टाइनमा राखिएको छ ।
आफन्तले बसमा ल्याएको मोटरसाइकलबाट झार्ने क्रममा बस छोएपछि शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी र स्थानीयलाई घरपरिवारसँगसमेत सम्पर्क नहुने गरी होम क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष जनकराज भण्डारीले जानकारी दिनुभयो ।
काठमाडौँबाट अछामकै विनायक गइरहेको यात्रुबाहक बसमा कोरोनाको सम्भावित सङ्क्रमण हुनसक्ने भन्दै उनीहरूलाई सुरक्षित रहनका लागि स्थानीयको दबावका कारण उनीहरूकै घरमा अलग्गै राखिएको छ । घरमा अलग्गै बस्ने भनिए पनि छ जनाका आफन्तले भने विरोध गरिरहेको वडा अध्यक्ष भण्डारीको भनाइ छ । कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि यस्तो उपाय अपनाइएको वडाको दाबी रहेको छ ।
भारतलगायत नेपालका अन्य जिल्लाबाट उक्त वडामा आएर हाल ४३ जना क्वारेन्टाइनमा बसिरहेका बताइएको छ । वडामा रहेको सत्सङ्ग भवन र मालिका आधारभूत विद्यालयमा वडाले क्वारेन्टाइन निर्माण गरिएको छ ।
केही दिनअघि अछामकै चौरपाटी गाउँपालिकामा विवाहित छोरी धनगढीबाट माइतीघर आएपछि आमाले अँगालो मार्दा आमा–छोरीलाई क्वारेन्टाइनमा राखिएको थियो । अछाम प्रवेश गर्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्ने बाध्यात्मक व्यवस्था रहेको छ ।