शिवराज ढुङ्गाना
अछाम, जेठ २१ गते । मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएका १० जनालाई अछाम अस्पतालको आइसोलेसन कक्षमा ल्याएर उपचार प्रारम्भ गरिएको छ । मेल्लेख गाउँपालिकाका–४, कुष्कोटका आठ जना, चौरपाटी गाउँपालिका–२ का एक जना र अछाम अस्पतालका एम्बुलेन्स चालकलाई आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. मनोज विष्टले जानकारी दिनुभयो ।
कुष्कोटमा सङ्क्रमित भएका आठै जनालाई ल्याइएको छ भने चौरपाटी गाउँपालिकाका दुई जना सङ्क्रमितमध्ये एक जनामा सामान्य लक्षण देखिएकोले स्थानीय स्वास्थ्य संस्थाबाट उपचार भइरहेको बताइएको छ । आइसोलेसनमा रहेका सबै जनाको अवस्था सामान्य रहेकोले हाल उच्च निगरानीका साथ सामान्य उपचार भइरहेको बताइएको छ ।
मेल्लेखका आठै जना स्थानीय क्वारेन्टाइनमा थिए भने चौरपाटीका युवक बयलपाटा अस्पताल हुँदै धनगढीबाट उपचार गरेर फर्केका हुन् । एम्बुलेन्स चालक आइतबार बिरामी लिएर धनगढीबाट फर्किएको बताइएको छ । एम्बुलेन्स चालकबाहेकका सङ्क्रमित दुई सातायता मात्र भारतबाट घर आएका हुन् ।
यस्तै, आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट देखिएका पञ्चदेवलविनायक नगरपालिकाका तीन जनालाई समेत अछाम अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । तीन जनाको थ्रोट स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको अस्पतालले जानकारी दिएको छ । अछाममा कोरोना पुष्टि भएका १३ जनाको सम्पर्कमा आएकासहित अन्य गरेर दुई सय बढी व्यक्तिको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका क्रममा रहेको छ ।