logo
२०८१ मंसिर १३ बिहीवार



लमजुङका व्यवसायीले तालिका बनाएर व्यवसाय सञ्चालन गर्ने

प्रदेश |


लमजुङका व्यवसायीले तालिका बनाएर व्यवसाय सञ्चालन गर्ने


बेलिना थापा
लमजुङ, जेठ २२ गते । लमजुङका व्यवसायीले तालिका बनाएर व्यवसाय सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण लकडाउन हुँदा व्यवसाय धरापमा परेको भन्दै सबै खाले व्यवसाय तालिका बनाएर सञ्चालन गर्ने निर्णय गरेको हो ।

लमजुङ उद्योग वाणिज्य सङ्घको बुधबार बसेको बैठकले औषधिजन्य व्यवसाय नियमित सञ्चालन गर्ने निर्णय गरेको छ । खाद्यान्न तथा मासु पसल हप्ताको चार दिन बिहान ६ बजेबाट ११ बजेसम्म सञ्चालन गर्ने, हरेक बैङ्क तथा वित्तीय संस्था हप्ताको तीन दिन बिहान १० बजेबाट १ बजेसम्म सञ्चालन गर्ने, रेस्टुराँहरू अर्डर अनुसार डेलिभरी गर्ने तर, त्यही बसी खान नपाउने गरी सञ्चालन गर्ने, मदिराजन्य व्यवसाय हप्ताको तीन दिन बेलुका ४ बजेबाट ६ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष राजेश थापाले बताउनुभयो ।

उहाँका अनुसार निर्माण सामग्री बिहान ६ बजेबाट ११ बजेसम्म हप्ताको तीन दिन सञ्चालन गर्ने, फेन्सी तथा कपडा र इलेक्ट्रिकल, मोबाइल पसल बेलुका ३ बजेबाट ६ बजेसम्म हप्ताको तीन दिन सञ्चालन गर्ने, तरकारी फलफुल तथा डेरीजन्य सामानहरू हप्ताको सातैदिन बिहान ६ बजे देखि ९ बजे सम्म सञ्चालन गर्ने भएको छ । हप्ताको तीन दिन बिहान वा बेलुका तीन घण्टा भिडभाड नगरी भौतिक दूरी कायम राखेर आफ्नो पसल वा ३/४ वटा पसलका बीचमा हातधुने व्यवस्था मिलाउँदै व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएको छ ।

लकडाउनका समय सबै व्यवसाय बन्द भएको अवस्थामा सरकारले जेठ २५ गतेभित्र कर तिर्न भनी सूचना जारी गरेको भन्दै यसलाई अव्यावहारिक कदम भनेको छ । लकडाउन अवधिमा बैङ्कको ब्याज छुटको माग गर्ने, बिजुली तथा खानेपानी महसूल छुट तथा घरभाडा सहुलियतका लागि नीतिगत निर्णय गरी कार्यान्वयन गर्न गराउनसमेत माग गरिएको अध्यक्ष राजेश थापाले बताउनुभयो ।

लमजुङ उद्योग वाणिज्य सङ्घले सङ्कट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मामार्फत सरकारलाई व्यवसायीका लागि राहत र सहयोगको प्याकेज ल्याउन माग गरेको छ । सरकारको तर्फबाट राहत र सहयोगका कुनै कुरा बजेटमा नसमेटिएको भन्दै कर्मचारीको तलब, घरभाडा, लगानीको ब्याज, परिवार पाल्नुपर्ने नियमित र बाध्यात्मक परिस्थितिका कारण उत्पादनमूलक, निर्माणमूलक, सेवामूलक एवम् आपूर्ति तथा वाणिज्य क्षेत्रका व्यवसायीहरूको अवस्था जटिल बन्दै गएको प्रति सङ्घले ध्यानाकर्षण गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?